१२ साउन २०८१, शनिवार

पशुपतिमा जलहरी जोख्दा कति भेटियो सुन ?

११ असार २०८०, सोमवार
Image

झापा, ११ असार । पशुपतिनाथको जलहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जोखेको छ ।

आइतवार दिउँसोदेखि जोख्न सुरु गरेको अख्तियारले सोमवार विहान २ बजेसम्म जोखेको जोख्यै गर्यो ।

जलहरी लगाउँदा सुनमा भ्रष्टाचार गरिएको आरोप लागेपछि संसद् र मिडियामा यो विषय हटकेक बनेको थियो । तर, अहिले जोख्ने काम सकिए पछि यस विषयमा खासै कतै चर्चा भएको पाइँदैन ।

अख्तियारले जोख्दा कति भयो जलहरीको सुन ? कम भेटियो कि बढी ? वास्तविकतातिर धेरैको चासो कम गएको छ ।

अख्तियारको टोलीले जलहरी जोख्दा १०६ दशमलब ४३६५ किलोग्राम सुन पाएको छ । सुनको जलहरी कस्न बनाइएको काँटीको तौल १ दशमलब ३७५ किलोग्राम पाइएको छ । सुनको गुणस्तर २४ क्यारेट कै पाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला जलहरी लगाइएको हो । त्यसबेला १०७ केजी ९२५ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो । 

सातदेखि आठ किलोग्राम सुन कम भएको उजुरीकर्ताहरुको दावी थियो । तर, जोख्दा त्यस्तो भेटिएन ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  

पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उनको छ करोड उनान्चालीस लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैँया एकचालीस पैसा सम्पत्ति देखिएकामा त्यसमा एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा अवैध देखिएकाले सोही रकम बराबरको विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।