१२ साउन २०८१, शनिवार

मेचीनगरको बजेट

बजेटका बेथिति : इन्धनमा ७६ लाख, गाडी राख्ने टहरो बनाउन ४० लाख

१३ असार २०८०, बुधवार
Image

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले कतिपय फजुल खर्चमा बजेटको ठूलो अंश खन्याएको पाइएको छ ।

आव २०८०/०८१ को प्रस्तावित बजेटमा नगरपालिका कार्यपालिकाको कार्यालय चिया, नास्ता र अतिथि सत्कार शिर्षकमा १५ लाख रुपैयाँ छुट्याइएको छ । (हेर्नुहोस् प्रस्तावित बजेट पुस्तिकाको पेज नं. ३२ को सि.नं.१३४)

हरेक त्रैमासिकमा तीन लाख ७५ हजार रुपैयाँ निकासा हुनेगरी वार्षिक १५ लाख रकम छुट्याइएको हो ।

यसैगरी, नगरपालिकाभित्र गाडी व्यवस्थापनका लागि सैड (टहरो ?) तथा अपुग कोठा निर्माणका लागि बजेटमा ४० लाख रुपैयाँ छुट्याइएको छ । (हेर्नुहोस् प्रस्तावित बजेट पुस्तिकाको पेज नं. ३३ को सि.नं. १५८)

नगरपालिकासँग नगरप्रमुख र उपप्रमुखको बेग्लाबेग्लै सवारी साधन छ भने अन्य सवारी तथा मेशिनरी गाडीहरु छन् । दमकल लगायतका अधिकांश साधनको राख्ने ठाउँ पहिल्यैदेखि छ । 

स्रोतका अनुसार नगर प्रमुख र उपप्रमुखको गाडी राख्न यो टहरा बनाउन लागिएको हो । तर, टहरो बनाउनै पर्थ्यो भने बजेट घटेको अहिलेको बेला ४० लाखकै बनाउन उपयुक्त थिएन ।

नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले यस्ता फजुल खर्च नगरौं भन्ने आवाज कार्यपालिका र नगरसभाभित्र सुनुवाई नभएको बताउनुभयो ।

‘हात्तीले मान्छे मारिरहेको छ, आत्महत्याका कैयन घटना हुने गरेका छन्, लागू औषधको दूव्र्यसनले समाजलाई निलिसक्यो,’ ती वडाध्यक्ष भन्नुहुन्छ–‘हाम्रो नगर नेतृत्व चाहिँ आफ्नो गाडी राख्ने टहरो बनाउन बजेटमा ४० लाख बजेट राख्छन् । यो हदै असुहाउँदो भयो ।’

सवारी साधनको इन्धन र मर्मत खर्चमा समेत नगरपालिकाको बजेट धेरै खर्च भएको देखिएको छ ।

आव २०८०/०८१ को प्रस्तावित बजेटमा इन्धन खर्च ७६ लाख रुपैयाँ छुट्याइएको छ ।

बजेटमा नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यका लागि इन्धनको बेग्लै शिर्षकमा ३० लाख रुपैयाँ (पेज नं. २७ को सि.नं.१४), कार्यालय प्रयोजनको बेग्लै इन्धनमा ४० लाख रुपैयाँ (पेज नं. २७ को सि.नं.१५) र अन्य प्रयोजनको इन्धनमा ६ लाख रुपैयाँ (पेज नं. २६ को सि.नं.२३) बिनियोजन गरिएको पाइएको छ ।

मेचीनगर नगरपालिकाले संघीय र प्रदेश सरकारबाट नै घटेर अनुदान आएको, आन्तरिक श्रोतबाट कम राजस्व उठेको र बजेट नै बिगतको तुलनामा घटाउनु परेको तर्क दिदै मितब्ययिता अपनाउने भन्दै आएको छ ।

जस अनुसार नगरसभा अधिवेशनमा बिगतको जस्तो तामझाम यसपल्ट गरिएन । खादा र खाजा खर्च कटौती गरिएको पनि थियो । तर, बजेटमा यस्ता कैयन विषय छन्, जसले नगरपालिकाको मितब्ययिताको नारा व्यवहारमा उत्रिने सम्भावना देखिदैन ।