२७ वैशाख २०८१, बिहिवार

साउदीको अमेरिकी दूताबास बाहिर नेपाली गार्डको हत्या

१४ असार २०८०, बिहिवार
Image

झापा, १४ असार । साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको बीबीसीले जनाएको छ ।

जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार बन्दुक बोकेका एक व्यक्ति कारमा आएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ ।

घटनाबारे साउदी निकायहरूले अनुसन्धान सुरु गरेका छन् ।

रोएटर्स समाचारसंस्थाले साउदी अरबको सरकारी समाचारसंस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा सुरुमा घाइते भएका र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ ।

‘जेद्दामा अमेरिकी वाणिज्य दूतावास भवनबाहिर एउटा कारमा आएका एक व्यक्ति रोकिए र हातमा बन्दुक बोकेर बाहिर निस्किए । सुरक्षा अधिकारीहरूले आवश्यकतानुरूप उनलाई रोक्न पहल गरे अनि गोली हानाहान हुँदा उनको मृत्यु भयो’ मक्का क्षेत्रका प्रहरी प्रवक्ताले बताए ।

जेद्दास्थित नेपालको महावाणिज्य दूतावासका अनुसार उक्त घटनाबारे हालसम्म आधिकारिक रूपमा सूचना प्राप्त हुन सकेको छैन ।

(बीबीसी)