१ असोज २०८१, मङ्गलवार

गाउँपालिकाका कर्मचारीबाटै ठगिए माछा किसान

१६ असार २०८०, शनिवार
Image

झापा, १६ असार । कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् ।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा पचास प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा आफू ठगिएको उल्लेख गरेका छन् । 

पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार वटा माछाको मुरा भनेर पाँच सयवटा मात्र दिएर ठगेको उजुरीमा जनाएका छन् । माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी , बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीलाई उजुरी दिएका हुन् । 

उनीहरुले माछाको भुराको लागि प्रतिगोटा डेढ रुपैयाँका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराको लागि डेढ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो । सोही आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भूरा उपलब्ध गराएको थियो । 

कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो । पालिका अध्यक्ष राजवंशीले भन्नुभयो, “कर्मचारीबाट त्रुटि भएकै हो । सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ । कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारवाही गर्छौं ।” उहाँले घटनाको यथार्थ के हो बुझेर चाडै सार्वजनिक गर्ने बताउनुभयो ।