२३ भदौ २०८१, आइतवार

आर्थिक संकटमा पनि बढ्यो एक्सेल बैंकको कारोवार

१७ असार २०८०, आइतवार
Image

विर्तामोड, १७ असार । कोशी प्रदेशकै ठूलो विकास बैंकको रुपमा परिचित एक्सेल डेभलपमेन्ट बैंकले विश्वव्यापी आर्थिक संकटको बेला पनि आफ्नो कारोवारमा वृद्धि गर्न सफल भएको छ ।

बैंकले विगतको भन्दा चालू आर्थिक वर्षमा निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि गर्न सफल भएको बैंकको शनिवार सम्पन्न १७ औं वार्षिक साधारणसभामा जानकारी दिइएको छ ।

साधारणसभामा बैंकको वित्तीय अवस्था बारे जानकारी दिदै प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्द्रकुमार कट्टेलले चालू आर्थिक वर्ष २०७९/०८० मा १३ अर्ब २५ करोड रुपैयाँ बचत (निक्षेप) संकलन भएको बताउनुभयो ।

जबकि, त्यसअघिको आर्थिक वर्ष २०७८/०७९ मा निक्षेप संकलन १२ अर्ब १७ करोड ३१ लाख १२ हजार रुपैयाँ थियो । कोरोना महामारी र विश्वव्यापी वित्तीय संकटका बेला यसरी बचत संकलनमा वृद्धि हुनुलाई बैंकले उपलब्धिको रुपमा लिएको छ ।

बैंकले चालू आव २०७९/०८० को नौ महिनामा नै कर्जा लगानी १० अर्ब ७९ करोड २७ लाख ३४ हजार रुपैयाँ पुर्याएको जनाएको छ । जबकि अघिल्लो आव आव  २०७८/०७९ मा १० अर्ब ५० करोड ४० लाख ७० हजार रुपैयाँ कर्जा लगानी भएको थियो ।

आर्थिक गतिविधि बढाउन सफलता पाएको एक्सेल बैंकले अरु बैंकले झैं मुनाफा आर्जनमा भने अपेक्षित उपलब्धि हासिल गर्न सकेन ।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले चालू आवको नौ महिनामा ४ करोड ४९ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा भएको जानकारी दिनुभयो । जबकि, आव २०७८/०७९ मा खुद नाफा ९ करोड ६४ लाख ५६ हजार रुपैयाँ थियो । 

कोरोना महामारी पश्चात बैंकको नाफामा गिरावट आएको देखिन्छ । आव २०७७/०७८ मा बैंकले १३ करोड ३६ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

कोरोना महामारी, आर्थिक मन्दी र बैंक विरोधी गतिविधिका कारण बैंकको आर्थिक प्रगतिमा नकारात्मक प्रभाव परेको जनाउँदै सीइओ कट्टेलले आगामी वर्षदेखि प्रभावकारी परिणाम र परिवर्तनका सकारात्मक सूचकहरु देखा पर्ने विश्वास सभालाई दिलाउनु भएको छ ।

कोशी प्रदेशको झापा, इलाम, पाँचथर, सुनसरी र मोरङ गरी पाँच जिल्लामा एक्सेल बैंकका ४४ शाखा सञ्चालनमा छन् । आगामी वर्ष कोशी प्रदेशका थप जिल्लामा ३ वटा शाखा विस्तार गरिने बताइएको छ ।

सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको साधारणसभामा संस्थापक सञ्चालकहरु गणेशप्रसाद खनाल र सुरेशप्रसाद अग्रवालले रचनात्मक सुझावसहित मन्तब्य व्यक्त गर्नुभएको थियो भने कम्पनीका सचिव श्यामबहादुर बोहोराले सभाको सञ्चालन र सीइओ इन्द्रकुमार कट्टेलले बैंकको वत्र्तमान अवस्था र भावी कार्ययोजनाका बारेमा धारणा राख्नु भएको थियो ।

संस्थापक गणेशप्रसाद खनाललाई सो अवसरमा सम्मानित गरिएको थियो । सभामा सञ्चालक समितिका सदस्यहरु राजन शर्मा, अमितकुमार अग्रवाल, पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल, पेशलराज पोखरेल र शुषमा शर्माको उपस्थिति रहेको थियो ।

बैंकका शेयरधनी, सञ्चालक समितिका पूर्व पदाधिकारी, कर्मचारी, पत्रकार लगायतको सो अवसरमा उपस्थिति रहेको थियो ।