१२ साउन २०८१, शनिवार

पाँच दिनभित्रै कोशीले पाउँदैछ नयाँ मुख्यमन्त्री

१७ असार २०८०, आइतवार
Image

झापा, १७ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेपछि अब को बन्ला मुख्यमन्त्री भन्ने विषयमा चासो बढेको छ ।

उहाँले संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।

अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनु भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओबादी केन्द्र, नेकपा एस र जनता समाजबादी पार्टी छन् भने अर्को गठबन्धनमा नेकपा एमाले र राप्रपा रहेका छन् ।

प्रदेशमा कसैको पनि बहुमत नपुग्ने स्थिति भएकाले अब विश्वासको मत लिने प्रयास सफल हुन मुस्किल छ ।

तथापि, नयाँ मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसबाट दलका नेता उद्धव थापाले दावी गर्नु भएको छ । आलोपालो गर्ने सहमति भए तापनि पहिले आफुले पाउनु पर्ने भन्दै माओबादीका दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्री दावी गरिरहनु भएको छ ।

कांग्रेसले माओबादीलाई मनाएर अबको मुख्यमन्त्री दावी गर्ने सम्भावना बलियो देखिएको छ ।