११ पुष २०८१, बिहिवार

राजनीति

प्रधानमन्त्रीको ‘दिल्लीवाला बोली’ले विवाद

२० असार २०८०, बुधवार
Image

झापा, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्लीवाला बोलीले राजनीतिमा ठूलै तनाव निम्त्याएको छ ।

सदनदेखि सामाजिक सञ्जालसम्म यही विषयले तातेको बेला प्रमुख प्रतिपक्षी दलले दाहालको राजीनामा मागेको छ भने सत्तारुढ दलकै सांसद् तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कडा आलोचना गर्नु भएको छ ।

बोली गलत 

नेपाली कांग्रेसका महामन्त्री शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको बताउनु भएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो ।

तीन पटक प्रधानमन्त्री भएका प्रचण्ड पहिलो र तेस्रो पटक एमालेको अग्रसरतामा प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘संसदको सम्मान र नेपालको राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्छ । प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । 

एमालेले माग्यो राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो बोल्नु भएको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दाहालको राजीनामा मागेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज भन्नुभएको छ–‘हामीलाई उहाँ (प्रधानमन्त्री)को स्पष्टिकरण होइन, राजीनामा चाहियो ।’ राजीनामा नआएसम्म संसद् चल्न नदिने ओलीको दावी छ ।

के थियो बोलेको ?

प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफुलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक सिंह धेरैपटक दिल्ली धाउनु भएको बताउनु भएको थियो ।

नेपालको प्रधानमन्त्री बनाउन दिल्ली धाउने कुरा मुलुकको स्वाभिमान र संसद्को घोर अपमान भएको एमालेले बताउँदै आएको छ ।