३ असोज २०८१, बिहिवार

मुटुमा पेसमेकर राखिएका पत्रकार निरौलाको स्वास्थ्यमा सुधार

२० असार २०८०, बुधवार
Image

झापा, २० असार । काठमाडौमा उपचाररत् झापाका पत्रकार तुलसी निरौलाको स्वास्थ्यमा सुधार आएको छ ।

मुटुको रक्तसञ्चार रोकिने (सफ्ट हार्टएट्याक) समस्या देखिएपछि ४३ वर्षीय निरौला तीन सातादेखि काठमाडौंको राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहनु भएको छ ।

विर्तामोडको पूर्वाञ्चल दैनिकमा लामो अवधि फिल्ड र सम्पादकीय डेक्समा बसेर पत्रकारिता गर्नुभएको निरौला पछिल्लो समय बिर्ताज्योति साप्ताहिक पत्रिका सम्पादन गरिरहनु भएको छ ।

‘मेरो स्वास्थ्यमा सुधार आइरहेको छ,’ लोकतन्त्र पोस्टसँग आज उहाँले भन्नुभयो–‘डाक्टरले होमरेस्टमा बसेर फ्लोअपमा आइरहनु भन्नु भएको छ ।’

उहाँको छातीमा शल्यक्रिया गरेर असार ५ गते मुटुमा पेसमेकर राखिएको निरौलाले बताउनुभयो । उहाँको शल्यक्रिया डा. रबि मल्लले गर्नुभएको हो ।

हालसम्म उपचारमा सात लाख रुपैयाँ खर्च भइसकेको जनाउँदै उहाँले एक लाख सरकारबाट, केही स्वास्थ्य बिमाबाट र बाँकी आफ्नो एवम् शुभेच्छुकहरुको सहयोगबाट जुटाएको जानकारी दिनुभयो ।

काठमाडौंमा दिदीको घरमा बसेर अस्पताल धाइरहेको समेत उहाँले बताउनुभयो ।

उहाँको स्वास्थ्य परीक्षण गर्दा मुटुमा समस्या रहेको पत्ता लागेको थियो । झापाको कनकाई र विराटनगरको नोबेल हस्पिटलमा जँचाउँदा चिकित्सकहरुले उहाँलाई काठमाडौं जान सुझाव दिएका थिए ।