२३ भदौ २०८१, आइतवार

हल्दिबारीमा सन्थालहरुले पाए पक्की घर

२१ असार २०८०, बिहिवार
Image

हल्दिबारी, २१ असार । हल्दिबारीकी सुकमनि मुर्मुलाई गाउँपालिकाले बुधवार नमुना वस्तीको एउटा पक्की घरको चावी हस्तान्तरण गर्यो । शौचालय, खानेपानी र बिजुली सुविधा भएको तीन कोठे पक्की घर पाउँदा उहाँको आँखामा हर्षको आँशु टिलपिलाएको थियो ।

सुकमनि जस्तै हल्दिबारीका विपन्न, एकल, अपांग र दलित समुदायका १३ परिवारले पालिकाले बनाइदिएको घर पाएका छन् । गाउँपालिका प्रमुख रविन्द्र लिङ्देनले एक समारोहबीच ती घरहरु हस्तान्तरण गर्नुभयो ।

घर पाउने १३ परिवारमध्ये सन्थाल समुदायका नौ, दलित समुदायका तीन र खस क्षेत्री समुदायका एक परिवार रहेको सूचना अधिकारी राजन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर पाउनेहरुमा मराङमाई हेमरम, भीमबहादुर कामी, विश्वनाथ हास्दा, धनबहादुर विश्वकर्मा, लालबहादुर विश्वकर्मा, लुखीराम मुर्मु, नारायण हेमरम, विशाल हास्दा, सुनिराम सोरेन, जसमी किस्कु, एकराज कटुवाल, सुकमनि मुर्मु र हपना हास्दाको परिवार रहेका छन् । 

गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले ती परिवारका लागि रोजगारीको व्यवस्थाका लागि पहल गरिदिने र सबै परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गर्नु भएको छ । 

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले नमुना बस्तीका बासिन्दालाई आगामी दिनमा समेत समस्या परेका बेला सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कोशी प्रदेश सरकारको सहयोगमा हल्दिबारी गाउँपालिकाले वडा नं २ स्थित जनता आधारभूत विद्यालयको जग्गामा ५८ लाख ५८ हजार ७७७ रुपैयाँमा ती घर निर्माण गरेको हो । 

जय ईश्वरी निर्माण सेवाले २०७६ पुस ६ गते निर्माणको ठेक्का लिएर २०७८ असार २० गते निर्माण कार्य सम्पन्न गरेको थियो । निर्माण भएको दुई वर्षपछि ती घर विपन्न नागरिकहरुलाई हस्तान्तरण गरिएको हो ।