२० वैशाख २०८१, बिहिवार

हात्तीपीडितलाई बाह्र वर्षमा रु. सात करोड राहत

२१ असार २०८०, बिहिवार
Image

झापा, २१ माघ । बिगत १२ वर्षमा झापामा मानव–हात्ती द्वन्द्वबाट पीडितलाई रु. सात करोड १६ लाख २७ हजार ७१९ राहत रकम वितरण भएको छ ।

जंगली हात्तीको आक्रमणमा मृत्यु, घाइते र धनमालको क्षति भएका परिवारलाई सरकारका तर्फबाट राहत उपलब्ध गराइएको हो ।

डिभिजन बन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीका अनुसार आर्थिक वर्ष २०६८/०६९ देखि २०७९/०८० सम्मको अवधिमा मृत्यु, घाइते र बाली क्षति भएका तीन हजार ९९२ जनालाई राहत उपलब्ध गराइएको छ ।

राहतमध्ये आधाभन्दा बढी रकम भौतिक संरचना र बालीमा भएको क्षति भएका परिवारले पाएका छन् । सरकारले मृतकका परिवारलाई रु. १० लाख गराउँदै आएको छ भने घाइतेको अवस्था अनुसार उपचार खर्च व्यहोर्दै आएको छ । भौतिक सम्पत्ति र बालीको क्षति मूल्यांकन गरेर राहत दिने गरिएको छ ।

हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई तत्कालै काजक्रिया खर्चवापत रु. ५० हजार नगदै दिने गरिएको र थप कागजी प्रक्रिया पुर्याएर रु. नौ लाख ५० हजार दिइने गरिएको डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो ।

उहाँका अनुसार घाइते व्यक्ति गम्भीर अवस्था भए अधिकतम् रु. दुई लाखसम्म उपचार खर्च सरकारले व्यहोर्ने गरेको छ । घरमा क्षति भए रु. २० हजारसम्म र बाली क्षति भए रु. १० हजारसम्म पीडितलाई राहत दिने गरिएको छ ।

बिगत १२ वर्षमा सबैभन्दा बढी राहत आव २०७८/०७९ मा वितरण भएको छ । उक्त वर्ष मृतकलाई रु. ७९ लाख ५० हजार, घाइतेलाई रु. पाँच लाख ७४ हजार ७६ र धनमाल क्षति भएकालाई रु. ४१ लाख २४ हजार ९०० गरी कूल रु. एक करोड २६ लाख ४८ हजार ९७६ राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।

सो वर्ष ४४० जनाले राहत पाएका थिए । चालू आव २०७९/०८० मा पनि ५१४ जनाले राहतवापत कूल रु. एक करोड ११ लाख ३७ हजार ७०३ प्राप्त गरेका छन् । चालू आवमा हात्तीको आक्रमणमा आठ जनाको मृत्यु भएकोमा पाँच जनाले राहत पाइसकेका छन् । अरुको राहत प्रक्रियामा छ ।

कार्यालयको अभिलेख अनुसार बिगत १२ वर्षमा हात्तीबाट सम्पत्ति, चौपाया र अन्नबाली क्षति भएका परिवारले राहत स्वरुप रु. तीन करोड ९१ लाख १२ हजार ९४१ पाइसकेका छन् ।

यसैगरी, सोही अवधिमा हात्तीबाट मृत्यु भएका परिवारले रु. दुई करोड ८३ लाख ८५ हजार र घाइते भएका परिवारले रु. ४१ लाख ६४ हजार ७७८ राहत स्वरुप प्राप्त गरेका छन् । आव २०७२/०७३ मा सबैभन्दा बढी ९१९ जनाले राहत पाएका थिए । 

एक वर्षमै आठ जनाको मृत्यु

चालू आव २०७९/०८० मा हात्तीको आक्रमणमा परी झापामा आठ जनाको मृत्यु भएको छ । हात्तीले खेतबारीमा काम गर्दा, घरमा सुतेका बेला, काम विशेषले हिँडिरहेका बेला र जंगलमा गएको बेला मानिसलाई आक्रमण गरेको पाइएको छ ।

डिभिजन बन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीका अनुसार यो वर्षको असारमा हात्तीको आक्रमणमा तीन जनाले ज्यान गुमाएका छन् । मृतकहरु मेचीनगर–१० की ८० वर्षीया अन्नाकुमारी साह, दमक–३ की ४५ वर्षीया कमैया राई र भद्रपुर–७ का ५२ वर्षीय गिरेन कर्मकार रहेका छन् ।

यसैगरी, गत पुस महिनामा शिवसताक्षी–११ का ६१ वर्षीया कृष्णामाया भण्डारी र बैशाखमा बुद्धशान्ति–४ का ७० वर्षीय भिमबहादुर भट्टराईको हात्तीको आक्रमणमा मृत्यु भएको थियो । पुस महिनामै बाह्रदशी–१ का ३७ वर्षीय जगतबहादुर भुजेल, भदौमा बुद्धशान्ति–५ का ३७ वर्षीया सम्झना श्रेष्ठ, भदौमै बाह्रदशी–२ का देबीबहादुर अधिकारीको हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।

हात्तीपीडित परिवारलाई स्थानीय पालिका र सामुदायिक बन कार्यालयहरुले समेत आफ्नै कार्यविधि अनुसार राहत रकम प्रदान गर्दै आएको पाइएको छ ।–––     


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।