३ असोज २०८१, बिहिवार

एसइईको नतिजा सार्वजनिक

२१ असार २०८०, बिहिवार
Image

झापा, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । 

बिहीबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ ।

परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धति अनुसार नतिजा प्रकाशित गरेको हो । विसं २०७२ को प्रणाली अनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ। विसं २०७२ को पद्धति अनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । 

परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका थिए। प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

के पढ्न पाउने र के नपाउने ?

बिहीबार सार्वजनिक नतिजामा भने विद्यार्थी फेल भएका छैनन् । तर उनीहरुले ल्याउने अंकको आधारमा के विषय पढ्न पाउने र के नपाउने भन्ने सरकारले तोकिदिएको छ ।

कक्षा ११ मा भर्ना पाउन अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनैपर्छ । विज्ञान पढ्न विज्ञान र गणितमा सी प्लस ल्याउनैपर्छ । आठ विषयमा परीक्षा दिँदा गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानबाहेकका तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा डी ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।

कक्षा ११ मा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । यी समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए २ ल्याउनैपर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १।६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् ।

सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।

समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् ।

सैद्धान्तिक विषयतर्फ सी वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् ।

मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् ।