२ कार्तिक २०८१, शुक्रवार

अहिले भर्खरै

मुख्यमन्त्री पदमा उद्धव थापाको दावी

२१ असार २०८०, बिहिवार
Image

झापा, २१ असार । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्नु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा थापाले मुख्यमन्त्रीको दावी पेश गर्नु  भएको हो ।

उहाँलाई नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टीको समर्थन रहेको छ ।

सभामुखसहित ४७ जनाको समर्थन आफुलाई भएको थापाले दावी गर्नु भएको छ ।

राप्रपाले भने थापा नेतृत्वको गठबन्धनलाई समर्थन जनाएन ।

एमाले र राप्रपाको आपत्ति

यसैबीच, नेकपा एमालेले सभामुख बाबुराम गौतमलाई समेत जोडेर गठबन्धनले बहुमत सिद्ध गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमाले र राप्रपाले सभामुख गौतम हाल कुनै पनि दलको सदस्य नभएको र सरकार गठनमा गणना गरिनु कानून, संसदीय मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत हुने जनाएको छ ।

मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका नेता उद्धव थापाको दावी पेश हुनु अगावै एमाले संसदीय दलका नेता हिक्मत कार्की र राप्रपाका नेता भक्ति सिटौला प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउन जानु भएको थियो ।