१ असोज २०८१, मङ्गलवार

भारतीय कुखुराको आयात रोक्न व्यवसायीको माग

२३ असार २०८०, शनिवार
Image

झापा, २३ असार ।  भारतीय बोइलर कुखुराको अबैध आयात रोक्न कुखुरा व्यवसायीहरुले प्रदेश प्रहरी कार्यालयसँग माग गरेका छन् । सरकारले भारतीय कुखुरा आयातमा प्रतिबन्ध लगाए पनि सीमा क्षेत्रबाट भित्रिने गरेको नेपाली कुखुरा व्यवसायीको गुनासो छ ।

जिल्लाका सीमावर्ती क्षेत्र नकलबन्दा, काँकरभिट्टा, भद्रपुर, कचनकवल, गौरीगञ्जलगायतका नाकाबाट दिनहुँ भारतीय बोइलर कुखुराको आयात हुँदा नेपाली कुखुरा व्यवसायी मारमा परेको भन्दै प्रशासनसँग तत्काल रोक्न माग गरिएको हो ।

जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलालाई शुक्रवार व्यवसायीहरुले ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो । उहाँले प्रदेशका विभिन्न नाकाबाट दैनिक पाँच हजार भन्दा बढी भारतीय बोइलर कुखुरा अबैध रुपमा नेपाल भित्रिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय प्रतिबन्धित ब्रोइलर कुखुराको अवैध आयात नरोक्ने हो भने कोशी प्रदेशका पोल्ट्री फार्म व्यवसाय धराशायी अवस्थामा पुग्नेछन् ।”

अवैध रुपमा भित्रने कुखुराले झापा, मोरङ र सुनसरीका पोल्टी फर्म सञ्चालन गरेका व्यवसायीहरुको व्यापार धरापमा परेको व्यवसायीको गुनासो छ ।  झापामा मात्र कुखुराजन्य बस्तुको उद्योगमा करिब ८ हजारले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने दुई हजार घरपरिवारको यसैबाट गुजारा चलेको उहाँले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रदेश प्रहरी प्रमुख बास्तोलाले व्यावसायीको गुनासोप्रति आफू गम्भीर रहेको बताउनुभएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो । उहाँले सीमामा रहेका सबै प्रहरी निकायलाई अबैध भारतीय कुखरा भित्रिन नदिन निर्देशन दिने व्यवसायीहरुलाई बताउनुभयो ।