१ असोज २०८१, मङ्गलवार

संघको अध्यक्षमा पत्रकार पोखरेलको दावी

२३ असार २०८०, शनिवार
Image

झापा, २३ असार । नेपाल परिवार नियोजन संघ झापाको अध्यक्षमा पत्रकार गणेश पोखरेलले दावी गर्नुभएको छ ।

यही असार २५ गते झापा जिसस भवनमा संघको अधिवेशसन सुरु हुँदैछ भने असार ३० गते कार्यसमितिको निर्वाचन हुँदैछ ।

‘परिवर्तित सन्दर्भमा संघलाई नयाँ शैली र योजनाका साथ सञ्चालन गर्नुपर्ने खाँचो देखियो,’ पत्रकार पोखरेलले लोकतन्त्र पोस्टसँग भन्नुभयो–‘आम सदस्यहरुको चाहना र भावना अनुसार मैले यसपटक अध्यक्षको उम्मेद्वार बन्ने निर्णय गरेको हुँ ।’

विर्तामोड निवासी पोखरेल अहिलेको कार्यसमितिमा सचिव पदमा हुनुहुन्छ । वत्र्तमान अध्यक्ष लोकनाथ भट्टराई बुइँपालीले दोहोर्याउने इच्छा देखाउनु भएको हुँदा पोखरेल र भट्टराईबीच अध्यक्ष पदमा प्रतिष्पर्धा हुने देखिएको छ ।

वि.सं. २०३४ सालमा स्थापित नेपाल परिवार नियोजन संघ झापाको पुरानो र गतिशील गैरसरकारी संस्थामध्ये एक हो ।

संघको झापा शाखामा ७७५ जना आजीवन सदस्य रहेका छन् । उनीहरुले नै लोकतान्त्रिक चुनावमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।

संघको विधान अनुसार शाखा कार्य समितिमा एक अध्यक्ष, एक कोषाध्यक्ष र नौ जना सदस्य रहने व्यवस्था छ । जसमध्ये ५१ प्रतिशत महिला हुनैपर्छ ।

कार्य समितिमा कोषाध्यक्ष पदमा पार्वती ओझाको नाम चर्चामा रहेको छ । 

संघमा पछिल्लो समय दाताको सहयोग घट्दै गएको छ । यौन तथा प्रजनन् क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सकेको देखिदैन । मुलुक संघीयता गएपछि संघले तीनै वटा सरकारको सहयोग लिनु पर्नेमा त्यसो हुन नसकेका अध्यक्षका दावेदार पोखरेल बताउनुहुन्छ ।

कार्यालय भवन जीर्ण अवस्थामा पुगेको जनाउँदै पोखरेलले आफुले नेतृत्व गर्ने अवसर पाएपछि चारआलीको क्लिनिकल भवन पुननिर्माण र सेवा चुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले पृथ्वीनगर, चन्द्रगढी र दमकमा रहेको क्लिनिकल सेवालाई अझ प्रभावकारी र जनशक्तियुक्त बनाउने बताउनुभएको छ ।

पत्रकारिता क्षेत्रमा अढाई दशकदेखि क्रियाशील पोखरेल हाल रेडियो भिजनका प्रबन्ध निर्देशक र प्रेस काउन्सिल नेपालका सदस्य हुनुहुन्छ । उहाँले नेपाल पत्रकार महासंघ झापाको अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी पूरा गरिसक्नु भएको छ ।