२ कार्तिक २०८१, शुक्रवार

प्रभावकारी बन्यो ‘गाई ब्लक विकास’ कार्यक्रम

२५ असार २०८०, सोमवार
Image

झापा, २५ असार । प्रधानमन्त्री परियोजना अन्तरगत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ । अजुनधारा नगरपालिका–१ खुदुनाबारीका किसानले गाई ब्लक विकास कार्यक्रम मार्फत दूध उत्पादन गरेर जीविकोपार्जन सहज बनाएका छन् ।

आर्थिक बर्ष २०७८÷०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक बर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख सित्तल भट्टराईले बताउनुभयो । 

उहाँले किसानलाई यस कार्यक्रममार्फत गाईको दूध बेचेरै जीविकोपार्जन गर्न समेत मद्दत गरेको बताउनुभयो । उहाँले इलाम र झापा गरी दुई सहकारीमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

अधिकांश किसानले सोही कार्यक्रम मार्फत गाईको दूध बेचेरै जीविकोपार्जन गरिरहेका छन् । उनीहरुलाई हाम्रो स्वालम्बी उद्यमी महिला सहकारी संस्थाले दूध खरिद गरेर सहयोग गरेको छ । सहकारीमार्फत नै प्रधानमन्त्री कृषि परियोजना अन्तरगतको “गाई ब्लक विकास कार्यक्रम” समेत सञ्चालन भइरहेको छ । 

गाई ब्लक विकास कार्यक्रम सञ्चालनका लागि केन्द्रले पहिलो बर्ष रु. ७० लाख र दोस्रो बर्ष रु ३० लाख गरी रु. एक करोड अनुदान समेत प्रदान गरेको छ । सो रकम सहकारीले किसानलाई गाई गोठ निर्माण, उन्नतजातका गाई खरिद, मिल्क एनलाइजरलगायतका औजार खरिदका लागि अनुदान प्रदान गरेको केन्द्रकी प्रमुख सितल भटट्टराईले बताउनुभयो । 

वि.सं. २०७५ सालदेखि सञ्चालन गरिएको सहकारीले पालिका र वडाको आर्थिक सहयोगमा २०७७ सालमा दूध संकलन केन्द्र सुरु गरेको थियो । पालिकाले रु. आठ लाख र वडाले रु दुई लाख सहयोग प्रदान गरेपछि दूध संकलन केन्द्र सुरु गरिएको सहकारीकी व्यवस्थापक शुशीला तामाङ्गले बताउनुभयो । 

“सुरुमा केन्द्रमा ३५ लिटर मात्र दूध संकलन हुन्थ्यो”, उहाँले भन्नुभयो, “गाई ब्लक सञ्चालन गरेसँगै अहिले दैनिक एक हजार लिटर बढी दूध संकलन हुन्छ ।” उहाँले हाल वडा नम्बर १ का हरेक घरमा दुईदेखि १० वटासम्म उन्नत जातका गाई पालन भइरहेको बताउनुभयो । सुरुमा नुन तेलका लागि मात्र दूध बेच्न किसानको अहिले जीविकोपार्जन नै यसैबाट भएको उहाँले बताउनुभयो । 

उहाँले सोही कार्यक्रम अन्तरगत ४४ जना किसानलाई आधुनिक गोठ निर्माणमा, ३९ जना किसानलाई उन्नतजातको गाई खरिदका लागि रकम उपलब्ध गराएको बताउनुभयो । 

व्इवस्थापक तामाङले किसानले उत्पादन गरेको दूध सहकारीले घरघरबाटै रु ६० देखि ८०सम्ममा खरिद गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मिल्क एनलाइजर लगाएर हेर्छौ सोही अनुसार किसानले दूधको मूल्य पाउनुहुन्छ ।” सहकारीले आफना शेयर सदस्यलाई समेत गाई पालनका लागि ११ प्रतिशत व्याज दरमा रु. दुई लाखसम्म ऋण लगानी गर्दै आएको बताउनुभयो । 

उहाँले सहकारीले संकलन गरेको दूध मेचीनगर नगरपालिकामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘एनएमसी डेरी’लाई विक्री गर्दै आएको बताउनुभयो ।  सहकारीमा हाल दुई हजार ११ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा शेयर सदस्य नभएका व्यक्तिहरुलाई समेत समावेश गरिएको उहाँको भनाई छ ।