३ असोज २०८१, बिहिवार

मक्किएको प्लाईले छोपिएको सेफ्टी ट्यांकीमा डुबे मन्टेश्वरीका बालक

२५ असार २०८०, सोमवार
Image

धुलाबारी, २५ असार । मेचीनगर–१० धुलाबारी मोडमा ‘सानो साथी किन्डर गार्टेन’ नाम भएको मन्टेश्वरीमा पढ्ने एक बालक मक्किएको र पातलो प्लाईउडको पाताले छोपिएको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका छन् ।

घटना आज दिउँसो विद्यालयमा भएको हो । घाइते बालक मेचीनगर–१० शान्तिटोल निवासी मेरिना लिम्बुकी ८ वर्षीय छोरा तान्छोक लिम्बु हुन् ।

दिउँसो १२ बजेतिर कक्षा कोठामा बालिका नभेटिएको र तत्कालै खोजी गर्दा विद्यालय भवन पछाडिको शौचालयको सेफ्टी ट्यांकीमा डुबिरहेको अवस्थामा फेला पारिएको विद्यालयको व्यवस्थापनले जानकारी दिएको प्रहरीको भनाई छ ।

बेहोश अवस्थामा बालिकालाई सेफ्टी ट्यांकीबाट उद्धार गरेर उपचारका लागि तत्कालै बीएन्डसी हस्पिटल लगिएको थियो । हाल भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

घाइते बालकको स्वास्थ्य स्थिति अति चिन्ताजनक रहेको मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । उहाँले हस्पिटलमै पुगेर बालकको स्वास्थ्य अवस्था र उपचार बारे जानकारी लिनुभएको छ ।

वडाध्यक्ष खनालले सेफ्टी ट्यांकीको माथिको प्वाल पातलो र मक्किएको प्लाईउडको पाताले छोपछाप पारेर राखिनु विद्यालयको गम्भीर लापरवाही भएको बताउनुभयो ।

सो विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १ सम्म पढाई हुने गरेको र हाल ६४ जना विद्यार्थी रहेको बताइएको छ ।

घटनापछि धुलाबारीमा तनाव उत्पन्न भएको छ । ठूलो संख्यामा स्थानीयबासी विद्यालय बाहिर राजमार्ग वरपर भेला भएका छन् । प्रहरीले विद्यालयको सुरक्षा पहरा दिइरहेको छ ।

विद्यालयको स्थापना २०७० सालतिर मनोज गुरुङले गरेको बताइएको छ । घटनापछि विद्यालय खाली गराइएको छ ।