२० वैशाख २०८१, बिहिवार

पार्वती मन्दिरले थपियो अर्जुनधारा धामको आकर्षण

२६ असार २०८०, मङ्गलवार
Image

झापा, २६ असार । ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. ७ मा रहेको प्रसिद्ध यस धाममा वर्षेनी १० लाखभन्दा बढी धार्मिक पर्यटक देश विदेशबाट दर्शनका लागि आउने गरेका छन् । महाभारतकालमा अर्जुनले प्रजन्य अस्त्र प्रहार गरी भूमिगत जलधारा निकालेको किंबदन्तीका कारण धामको नाम अर्जुनधारा रहन गएको हो ।  

धामको मूलमन्दिर दक्षिणतिर पार्वती माताको भब्य मन्दिर र १०८ शिवलिङ्ग स्थापना गरिएको हो । विर्तामोड नगरपालिका वडा नं. ३ निवासी कमल बस्नेत र झुमा बस्नेतले पार्वती मन्दिर र शिवलिङ्ग रु. एक करोड ५० लाखको निजी लगानीमा निर्माण गरिदिनु भएको धाम सञ्चालक समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो ।

“धामको गुरुयोजनामा पार्वती मन्दिर र १०८ शिवलिङ्ग बनाउने कुरा समावेश थियो,” जोशीले भन्नुभयो–“हामी दाताको खोजीमा थियौं । त्यहीबेला बस्नेत दम्पत्ति आउनुभयो र आफ्ना बुवाआमाको स्मृतिमा बनाउँछौं भन्नुभयो ।” नवनिर्मित संरचनाहरु मन्दिरलाई हस्तान्तरण भइसकेका छन् ।

अर्जुनधारा मन्दिरमा मूलतः शिवको पूजा आराधना गरिने हुँदा भक्तजनहरुबाट पार्वती माताको मन्दिरको माग हुँदै आएको थियो । अब शिवको मन्दिर (मूलमन्दिर) र पार्वतीको मन्दिर नजिकै स्थापना भएपछि दर्शनार्थी प्रसन्न हुने गरेको जोशीले बताउनुभयो ।

शिवलिङ्ग राखिएको स्थानमा प्रवेशद्वारबाट अघि बढ्दै जाँदा १०८ वटै शिवलिङ्गको दर्शन पूरा गरिसकेपछि मात्र बाहिरिन सकिने व्यवस्था मिलाइएको छ । पार्वती मन्दिरको छानो समेत पेगोडा शैलीमै निर्मित छ ।

वि.सं. २०२२ सालमा एउटा हात सूर्य भगवानलाई चढाएको बताउने सल्यानका नरनाथ मिश्र नामक ‘सन्त खडे बाबा’ले स्थापना गरेको शिवालयको परिष्कृत स्वरुप नै अहिलेको अर्जुनधारा जलेश्वर धाम हो ।

काठमाडौंको पशुपतिनाथ मन्दिरकै शैलीमा अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरको छाना ताम्रपत्रले पेगोडा शैलीमा निर्माण गरिएको छ भने यहाँ पनि चार वटा ढोका छन् । अर्जुुनधारा पोखरी, पञ्च जलधारा, गणेश, हनुमान, गौमाता, नाग देवताका मन्दिरहरु, यज्ञकुण्ड, श्रवणहल, व्यासमञ्च, कार्यालय भवन, पुस्तकालय भवन, गौशाला, गुरुकुल–पाठशाला, छात्रवास, अतिथिगृह, आकर्षकद्वार, पोखरीका बीचमा अर्जुनले बाण हानी निकालेको जलधारा, तिर्खाएका गौमाताले पानी पिउँदै गरेका आकर्षक मूर्तिहरु मन्दिर परिसरमा स्थापना गरिएका छन् ।

धामको गुरुयोजना अन्तर्गतको संरचनाहरु निर्माणमा रु. एक अर्बको लगानी चाहिने धाम सञ्चालक समितिका अध्यक्ष नविन गट्टानीले बताउनुभयो ।

“गुरुयोजनामा समावेश गरिएका संरचनाहरु अब बनाइने छ,” अध्यक्ष गट्टानी भन्नुहुन्छ–“धाम क्षेत्रलाई धार्मिक, पर्यटकीय र आवासीय गरी तीन भागमा बाँडिएको छ । जसमध्ये धार्मिक क्षेत्र लगभग पूर्णरुपमा निर्माण भइसकेको छ ।”

धार्मिक क्षेत्र अन्तर्गत खडे बाबाको प्रतिमा स्थापना र उद्यान निर्माण भइसकेको छ भने परिक्रमा मार्ग बनिसकेको छ । धामका संस्थापक खडे बाबाको मूर्ति स्थापना र उद्यान निर्माणमा धामले आन्तरिक स्रोतबाट रु. छ लाख ५० हजार र कोशी प्रदेश सरकारको रु. १५ लाख खर्च भएको छ ।

आवासीय क्षेत्रमा गुरुकुल भवन निर्माण भए तापनि सुरक्षा चौकी, संग्रहालय, चमेना गृह र खानेपानी ट्यांकी निर्माण भएको छैन । पर्यटकीय क्षेत्रमा पानीको फोहोरासहितको आकर्षण बगैचा निर्माण गरिने गुरुयोजनामा उल्लेख भए तापनि स्रोतको अभावमा यो बन्न सकेको छैन ।

सात तलाको आधुनिक अतिथि सदन निर्माणका लागि संघीय सरकारसँग रु. सात करोड बजेटको माग गरिएको अध्यक्ष गट्टानी बताउनुहुन्छ । धाम क्षेत्र साढे पाँच बिगाहा क्षेत्रफलमा फैलिएको छ । दश कठ्ठाको पोखरी समेत छ । 

वि.सं. २०५५ सालको हुलाक टिकटमा समेत यो धामको चित्र प्रकाशित भएको छ । मन्दिरमा दर्शनका लागि भारत, भूटान, म्यानमारदेखि हिन्दू पर्यटकहरु आउने गरेको धामका व्यासाचार्य अग्निप्रसाद सिग्देलले बताउनुभयो । मन्दिरको भेटी र दाताको चन्दा नै आन्तरिक स्रोत रहेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।