३ असोज २०८१, बिहिवार

मन्टेस्वरीका चार जनाविरुद्ध मृतकका आमाबुवाले दिए किटानी जाहेरी

२६ असार २०८०, मङ्गलवार
Image

मेचीनगर, २६ असार । स्कुलको शौचालयको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका बालकको परिवारका तर्फबाट धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरीका सञ्चालक तथा कर्मचारीमाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै आज प्रहरीमा किटानी जाहेरी परेको छ ।

उक्त मन्टेस्वरीको शौचालयको सेप्टिक ट्यांकीमा डुबेर नर्सरीमा अध्ययनरत् ८ वर्षीय छात्र तान्छोकहाङ लिम्बुको मृत्यु भएपछि मृतककी आमा मेरिना लिम्बु र बुवा खर्कबाहादुर सुब्बाले धुलावारी इलाका प्रहरी कार्यालयमा लिखित जाहेरी दिनुभएको हो । 

तान्छोकहाङलाई सोमवार दिउँसो स्कुलको सेप्टिक ट्यांकीमा डुबेर वेहोश भएको अवस्थामा उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । प्रहरीले आज विहान साढे १० बजेमात्र बालकको मृत्यु भएको जानकारी दिएको छ । 

जाहेरीमा मन्टेस्वरीका सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङ, व्यवस्थापक अनिसा पोखरेल, सञ्चालक सुरेन रसाइली र कर्मचारी रमा सुनारलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानूनी कार्वाहीको माग गरिएको छ ।

स्कुलको सेप्टिक ट्यांकीमा डुबेर बेहोश अवस्थामा उपचारमा हस्पिटल पुर्याइएको भनिए तापनि हस्पिटल पुर्याउँदा चिकित्सकहरुले घाइतेको मुटुको धड्कन नभएको  बताएको जाहेरीमा उल्लेख गरिएको छ ।

स्कुलको सेप्टिक ट्यांकीमा डुबेर बेहोश अवस्थामा उपचारमा हस्पिटल पुर्याइएको भनिए तापनि हस्पिटल पुर्याउँदा चिकित्सकहरुले घाइतेको मुटुको धड्कन नभएको  बताएको जाहेरीमा उल्लेख गरिएको छ ।

‘स्कुलको सेप्टिक ट्यांकीमा डुबेर अचेत अवस्थामा फेला पारेर उपचारका लागि विर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा लगेर उपचार सुरु गरिएको छ भनेर उक्त विद्यालयको प्रिन्सिपल मनोज गुरुङले मलाई फोन गरी सुनाएपछि खबर सुन्नासाथ म बीएन्डसी अस्पताल पुगेर हेर्दा र उपचारमा रहेका चिकित्सकहरुसँग सोधपुछ गरी बुझ्दा चिकित्सकले बालखलाई अस्पताल ल्याइपुर्याउँदा मुटुको धड्कनै नभएको अवस्थामा ल्याएको र हाल बच्चाको मृत्यु भइसकेको भन्ने सुनाएपछि मैले छोरालाई मृत अवस्थामा भेट्न साथ तत्कालै प्रहरीमा घटना सम्बन्धमा जानकारी गरायौं’– जाहेरीमा भनिएको छ ।

इप्रका धुलाबारीमा १८३ नम्बरमा मृतकका परिवारको जाहेरी दर्ता भएको छ । जाहेरी दर्तापछि काँकरभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक भारतीले घटनाको निष्पक्ष अनुसन्धान गरिने र दोषीहरुमाथि कडा कानूनी कार्वाही हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मृतकका आफन्तहरुले प्रनाउ भारतीलाई कसैको दवावमा नपरी घटनाको अनुसन्धान गर्न र दोषीमाथि कानूनी कार्वाही गर्न आग्रह गर्नुभएको छ ।