३ असोज २०८१, बिहिवार

विरिङ खोलामा १२ वर्षपछि बनेको पुलमा आउजाउ सुरु

२८ असार २०८०, बिहिवार
Image

झापा, २८ असार । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा बनेको हुलाकी सडक अन्तरगतको विरिङ खोलाको पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल ठेक्का लागेको १२ बर्षपछि निर्माण सम्पन्न भएको हो । 

हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले पुल निर्माण भएसँगै सञ्चालनमा आएको बताउनुभयो । उहाँले खोलामा पानीको वहाव बढेर डाइभर्सन बगाएपछि साना सवारी साधान चलाउने गरी पुल सञ्चालनमा आएको जानकारी दिनुभयो । 

पुल सञ्चालनसँगै झापाका दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित बनेका छन् । बर्षौदेखि बर्षातका समयमा बाँसको टाँटीको पुल बनाएर खोला तर्नुपर्ने बाध्यताबाट स्थानीयवासी मुक्त भएको उहाँको भनाई छ । 

इन्जिनियर खतिवडाका अनुसार सो पुल ३२४ मिटर लामो र सात मिटर चौडाईको छ ।  आर्थिक बर्ष २०६८ असार ३१ गते ठेक्का लागेको पुल  २०७१ साल चैत १२ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो । ठेक्काको जिम्मेवारी लामा मैनाचुली जेभीले लिएको थियो । ठेकेदारको ढिलासुस्तीकै कारण छ पटक म्याद थप गर्दा मात्र बल्ल पुल निर्माण सम्पन्न भएको उहाँको भनाई छ । 

उहाँले सो पुल मूल्य अभिवृद्धि करसहित रु.१५ करोड ५० लाख ५८ हजारमा जेभीले ठेक्कामा लिएको बताउनुभयो । हुलाकी सडकमा पर्ने आठ वटा पुल मध्ये यो सहित चारवटाको निर्माण सम्पन्न भइसकेको छ भने चार वटा खोलाका पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको यस राजमार्गको झापा खण्डको ४८ किलोमिटर सडक निर्माण भइसकेको छ । कनकाई, विरिङलगायतका खोलामा समयमै पुल निर्माण भइनसक्दा सडक सञ्चालनमा आउन अझै सकेको छैन । 

पूर्वमेचीदेखि पश्चिम महाकालीको चाँदनी दोधोरा पुलसम्म एक हजार ६०० मिटरको हुलाकी मार्ग निर्माणपछि तराई मधेशका सर्वसधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम गरिएको थियो ।