२३ भदौ २०८१, आइतवार

मेचीनगरका स्कुलहरुको बैधता र पूर्वाधारको छानविन गरिने

२८ असार २०८०, बिहिवार
Image

मेचीनगर, २८ असार । मेचीनगर नगरपालिकाले सञ्चालनमा रहेका विद्यालयहरुको बैधताको छानविन गर्ने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले दुई दिन अघि जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

विज्ञप्तिका अनुसार सामाजिक विकास समितिका संयोजक हृदय राजबंशीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।

समितिको सदस्यमा वडा नं. १० का अध्यक्ष नारायण खनाल र मेचीनगर शिक्षा शाखाका प्रमुख होमप्रसाद भण्डारी रहनु भएको छ ।

मेचीनगर–१० धुलाबारीस्थित सानो साथी किन्डर गार्डेन नामक मन्टेस्वरी स्कुलमा नर्सरीमा अध्ययनरत् ७ वर्षीय बालक तान्छोपहाङ लिम्बुको स्कुलको शौचालयको सेप्टिक ट्यांकीमा डुबेर दुःखद् निधन भएपछि नगरपालिकाको यो निर्णय सार्वजनिक भएको हो ।

नगरपालिकाभित्र कतिपय विद्यालयहरु अनुमति र भौतिक पूर्वाधार बिना सञ्चालनमा रहेको जनगुनासो व्यक्त हुन थालेपछि नगरपालिकाले छानविन समिति गठन गरेको हो ।

नगर क्षेत्रभित्रका विद्यालयहरुको बैधता र भौतिक पूर्वाधारको अवस्थाका बारेमा समितिले छानविन गर्ने र नगरपालिकामा प्रतिवेदन बुझाउने समितिका सदस्य एवम् वडा नं. १० का अध्यक्ष नारायण खनालले बताउनुभयो ।

‘स्कुलकै असुरक्षित सेप्टिक ट्यांकीका कारण बालकको ज्यान जाने दुःखद् घटना भइसकेपछि नगरपालिकाले पनि पाठ सिक्नु पर्ने अवस्था आयो,’ वडाध्यक्ष खनालले भन्नुभयो–‘अहिले गठन भएको समितिले घटनाको छानविन गर्ने भन्ने होइन । त्यो अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको हो । हामीले विद्यालयहरु अनुमति लिएर बैधानिक रुपमा सञ्चालन भएका छन् कि छ्रैनन् भनेर अब खोज्नेछौं ।’

भौतिक पूर्वाधार र अनुमति बिना आफुखुशी सञ्चालनमा रहेका विद्यालयमाथि कार्वाहीका लागि समेत छानविन समितिले सिफारिस गर्ने बताइएको छ ।