९ मंसिर २०८१, आइतवार

तालिमको बहानामा शिक्षक नै ठगिए

२९ असार २०८०, शुक्रवार
Image

मेचीनगर, २९ असार । बाल शिक्षकहरुलाई तालिम दिने भनेर एक व्यक्ति मेचीनगरका विभिन्न विद्यालयहरुबाट रकम असुली फरार भएका छन् ।

सागर चौधरी नाम बताउने ती व्यक्तिले गत वैशाख १६ गते नै चन्द्रगढीमा बाल शिक्षकहरुका लागि उपयोगी तालिम प्रदान गर्ने भन्दै स्कुल धाएर शुल्क असुलेका थिए । 

चौधरीले तालिम दिने संस्था एजुकेसन डेभलपमेन्ट प्रोग्राम रहेको विश्वास दिलाउँदै रकम असुल्दा सोही संस्थाको रसिद दिएका थिए ।

मेचीनगर–१३ को बालसुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापाले तालिमको बहानामा बाल शिक्षकहरु ठगिएको बताउनुभयो ।

चौधरी गत फागुनदेखि तीन पटकसम्म आफ्नो विद्यालयमा धाएपछि रु. १,३५० दिएर पठाएको थापाले बताउनुभयो । ‘पैसा उठाएर गएका चौधरी सम्पर्कविहीन छन्, तालिम नै सञ्चालन भएन’–उहाँले सुनाउनुभयो ।

चौधरी बाल शिक्षकहरुको घरघरै पुगेर तालिम शुल्क असुल्थे । उनले प्रति शिक्षक रु. १,३५० संकलन गरेका थिए । सयौं व्यक्तिबाट यसरी संकलन भएको लाखौं रकम बोकेर उनी सम्पर्कविहीन भएका छन् ।

यसैमा ठगिएकी बाल शिक्षक मुना मुखियाले रसिद काटेर पैसा लगेको र तालिमका लागि पटकपटक सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बताउनुभयो । 

चौधरीले रकम लिँदा तालिमको समापनपछि शैक्षिक सामग्रीसहित सो रकम फिर्ता गर्ने बताएको मुखियाले बताउनुभयो । 

हाल चौधरीे मोबाइल फोन स्वीच अफ गरेर फरार छन् ।

बाह्रदशी, अर्जुनधारा, बिर्तामोड, मेचीनगर लगायतका विभिन्न पालिकामा चौधरीले बाल शिक्षकहरूबाट रकम असुलेको खुलासा भएको छ । पीडित बाल शिक्षकहरुले रकम उठाउने चौधरीलाई पक्राउ गरी कानूनी कार्वाही गर्न माग गरेका छन् ।