४ जेठ २०८१, शुक्रवार

ट्राफिक सचेतना बढाउँदा घट्यो सवारी दुर्घटना

४ साउन २०८०, बिहिवार
Image

झापा,  साउन । ट्राफिक सचेतना कार्यक्रम र मादक पदार्थ सेवन (मापसे) गर्नेहरुमाथि कार्वाही बढाउँदा सवारी दुर्घटनासँगै मानवीय क्षति न्यूनीकरण भएको छ । 

कोशी प्रदेशमा आर्थिक वर्ष २०७९÷०८० मा गत आवको तुलनामा सवारी दुर्घटनामा आठ प्रतिशत, मानिसको मृत्यु हुनेमा २२ प्रतिशत, गम्भीर घाइते हुनेमा ३३ प्रतिशत र सामान्य घाइते हुनेमा १२ प्रतिशतले कमी आएको पाइएको छ ।

सवारी दुर्घटना र क्षति न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान र उपाय लागू गर्दै आएको छ । सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्नुमा प्रहरी कार्वाही र सचेतना मुख्य कारण हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशी प्रदेशमा आर्थिक वर्ष २०७९÷०८० मा तीन हजार ५१० वटा सवारी दुर्घटना हुँदा ४१२ जना मृत्यु, ८१० जना गम्भीर घाइते र चार हजार ७९७ जना सामान्य घाइते भएका छन् ।

जबकि, आव २०७८÷०७९ मा प्रदेशमा तीन हजार ८२० सवारी दुर्घटना भएका थिए भने ५३१ जनाको मृत्यु, एक हजार २०३ जना गम्भीर घाइते र पाँच हजार ४४५ जना सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो ।

आव २०७९÷०८० मा प्रहरीले सवारी जाँच, सचेतना कार्यक्रम र मादक पदार्थ सेवन (मापसे) गर्नेलाई कार्वाहीमा उल्लेखनीय वृद्धि गरेको पाइएको छ । उक्त अवधिमा आठ हजार ३६३ जनालाई मापसे कार्वाही, २६ हजार ६६४ जनालाई सवारी शिक्षा र तीन लाख एक हजार ८७१ जनालाई सवारी नियम उल्लंघन गरेकोमा जरिवाना कार्वाही गरिएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

आव २०७८÷०७९ को अवधिमा पाँच हजार १०५ जनालाई मापसे कार्वाही, १९ हजार ८३३ जनालाई सवारी शिक्षा र दुई लाख ६९ हजार ८२३ जनलाई सवारी नियम उल्लंघन गरेकोमा जरिवाना गरिएको थियो ।

गत आवको तुलनामा आव २०७९÷०८० मा मापसे कार्वाही ६४ प्रतिशत, सवारी शिक्षा ३४ प्रतिशत र सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना १२ प्रतिशतले वढोत्तरी भएको उहाँले जानकारी दिनुभयो ।

सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्दा राजस्व संकलनमा समेत वृद्धि भएको छ । आव २०७९÷०८० मा रु. २० करोड सात लाख ३५ हजार ५०० राजस्व संकलन भएको छ भने त्यसअघिको आव २०७८÷०७९ मा रु. १८ करोड एक लाख ५९ हजार राजस्व संकलन भएको थियो ।