१७ असोज २०८१, बिहिवार

बुढाथोकीको प्रश्न–‘सभामुखले गोल हान्न पाउँछ ?’

३ साउन २०८०, बुधवार
Image

झापा, ३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिको वैधानिकतामा प्रश्न उठाउनु भएको छ । 

उहाँले सभामुखको समर्थन लिएर मुख्यमन्त्री चयन हुनु संविधानको भावना अनुसार नभएको बताउनुभयो ।

बुधबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोशी सरकारका विषयमा बैठकमा कुरा नउठेकामा आपत्ति जनाउनुभयो । 

‘प्रदेशमा सभामुखले उत्रेर गोल हान्न पाउँछ ? सभामुखले सही गरेर बहुमत पुर्याउन मिल्छ ?’ उहाँको भनाई थियो, ‘अनि आज यो तमासा हामी कांग्रेसले टुलुटुलु हेर्ने, त्यो विषयमा छलफल नहुने ?’

कांग्रेस संसदीय दलका नेता थापा सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो । यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा थापा नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

पार्टी बैठकमा यसलाई एजेण्डा नबनाएको र नेताहरुले पनि छलफल नगरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । ‘खै छलफल भा, खै त्यो इस्यु उठेको, के हामीले चिफ मिनिस्टर मान्नुपर्ने कि यो गलत छ भन्नुपर्ने, कि यो संविधान अनुसार छैन भन्नुपर्ने ? के भन्नुपर्ने हामीले ?’ बुढाथोकीले प्रश्न गर्नुभयो ।

सभापति शेरबहादुर देउवासँगै महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्म आङदेम्बेलाई सम्बोधन गर्दै सोधे, ‘महामन्त्रीजी, सभापतिजी यत्तिका नेता अगाडि हुनुहुन्छ ? भीष्मजी तपाईँ हाम्रो पूर्वको नेता, हामीले चिफ मिनिस्टर मान्नुपर्ने कि नमान्नुपर्ने ?’

बुढाथोकीले संविधान मस्यौदा समितिको संयोजक समेत रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको बैठकस्थलमा खोजी गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापा, कांग्रेसमा सिटौला निकट हुनुहुन्छ । त्यसतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘खै पूर्व महामन्त्रीजी देख्दिन । संविधान बनाउँदा उहाँ नै हाम्रो अगुवा हुनुहुन्थ्यो, उहाँकै नेतृत्वमा हामीले संविधान हामीले प्रस्तुत गरेका थियौं ।’

(अनलाइन खबर)