४ जेठ २०८१, शुक्रवार

बहस

कामख्यामा ‘फास्ट ट्रयाक’ सुविधा ठिक, अर्जुनधारामा किन बेठिक ?

४ साउन २०८०, बिहिवार
Image

झापा, ४ साउन । प्रसिद्ध अर्जुनधारा जलेश्वर धामले साउने सोमवार दर्शनका लागि आउने भक्तजनलाई शुल्क लिएर ‘फास्ट ट्रयाक’ पूजाको सुविधा दिन थालेको विषयमा टिका टिप्पणी भएको छ ।

धामले गत सोमवार दर्शनार्थीको अत्याधिक चाप भएपछि कार्यालय जानुपर्ने कर्मचारी, पसल खोल्नु पर्ने व्यवसायी, टाढादेखि धाएर आएका तीर्थयात्री लगायतलाई प्रति व्यक्ति दुई सय रुपैयाँ र सामूहिक पाँच सय रुपैयाँ शुल्क तिरेर फास्ट ट्र्याकबाट पूजाको सुविधा उपलब्ध गराएको थियो ।

एकैदिन सो सुविधा लिने करीव डेढ सय व्यक्तिबाट ३१ हजार रुपैयाँ मन्दिरको कोषमा संकलन भएको समेत धामले जनाएको छ ।

तर, भक्तजनलाई पैसाको आधारमा विभेद्पूर्ण व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणदेखि कतिपय सामाजिक अगुवासम्मले टिप्पणी गरेका छन् ।

टिप्पणी गर्नेहरुमा अर्जुनधारा नगरका नेपाली कांग्रेसका पूर्व सभापति हेमराज खरेल लगायत हुनुहुन्छ । उहाँहरुले धामलाई व्यापार गर्ने थलो बनाउन नहुने सुझाव राख्नु भएको छ ।

तर, धामको नयाँ व्यवस्था बारेमा सकारात्मक टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् । दान दक्षिणा र दाताको भरथेगबाट चल्ने अर्जुनधारा जलेश्वर धाम जस्ता धार्मिक स्थलहरुमा विशेष पर्वहरुमा सशुल्क पूजाको सुविधा हँुदा कोकोहोलो मच्चाइरहन जरुरी नभएको भद्रपुर–८ घर बताउने दर्शनार्थी उज्ज्वल लिम्बुको धारणा छ ।

‘म आसामको प्रख्यात कामख्या धाममा दर्शन गएको छु, महाराष्ट्रको त्रैमबकेश्वर धाममा गएको छु,’ अर्जुनधारा मन्दिरमा भेटिनु भएका राईले भन्नुभयो–‘त्यहाँ सशुल्क पूजा आराधनाको सुविधा दिइएको हुन्छ । टाढाबाट गएका र हतारमा भएकाहरुले तोकिएको शुल्क तिरेपछि फास्ट ट्रयाकबाट पूजा गर्ने सुविधा पाउँछन् ।’

भक्तजनले चढाएको भेटी र दाताले दिएको सहयोगको सदुपयोग कसरी भइरहेको छ भन्नेमा सामाजिक चासो हुनुपर्नेमा अचाहिँदो विषयमा विवाद झिकिएको उहाँको टिप्पणी थियो । नयाँ व्यवस्थाबाट मन्दिरको आम्दानी बढ्ने उहाँको धारणा थियो ।

अर्जुनधारा जलेश्वर धामले आज प्रेस विज्ञप्ति जारी गरी मन्दिरमा पूजा गर्न शुल्क तिर्नुपर्ने भनेर सामाजिक सञ्जालबाट गलत प्रचार गरिएको भन्दै त्यसको खण्डन गरेको छ ।

धामका अध्यक्ष नविन गट्टानीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘धाममा जलार्पण गर्न आउनु हुने भक्तजनहरुबाट दर्शन गरेवापत रु. २०० नगद लिएर दर्शन गराएको भनी सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुबाट आएको गुनासो उपर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी यस विषयमा सचेत छौं । भक्तजनहरुको भीड अत्याधिक बढेको हुँदा लाइनको व्यवस्थापन गरिएको छ । लाइनमा बस्न नसक्ने, शारीरिक अशक्तता भएका, अशक्त असहाय र अति वृद्धवृद्धाहरुलाई निःशुल्क शीघ्र दर्शन गराएका छौं ।’

धाम सञ्चालक समितिका कोषाध्यक्ष मनोज जोशीले दर्शनार्थीहरुको सुझाव र विगतको अनुभवका आधारमा सशुल्क शीघ्र दर्शन सुविधाको नयाँ व्यवस्था समितिबाट निर्णय गरेर लागू गरिएको बताउनुभयो ।

सशुल्क दर्शनका लागि कसैलाई करकाप नगरिएको र मन्दिरका चार ढोकामध्ये तीन ढोकाबाट भक्तजनहरुलाई निःशुल्क दर्शनको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । ‘चार ढोकामध्ये एउटाबाट मात्र सशुल्क दर्शनार्थीलाई प्रवेश दिने गरिएको छ,’ उहाँले भन्नुभयो–‘यो नयाँ अभ्यास भएको हुँदा केही असजिलो र टिप्पणीहरु आउँछन् । हामी आम भक्तजन र शुभेच्छुकहरुको भावनालाई जहिल्यै पनि कदर गर्दछौं ।’