२० वैशाख २०८१, बिहिवार

शिक्षा

मेचीनगर बहुप्राविधिक शिक्षालयले दियो छात्रवृत्तिको अफरै अफर

५ साउन २०८०, शुक्रवार
Image

मेचीनगर, ५ साउन । मेचीनगरको एकमात्र सरकारी प्राविधिक शिक्षालयको रुपमा स्थापित मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले नगरपालिकाको वडा कार्यालयबाट सिफारिस ल्याउने र उच्च जीपीए ल्याउने विद्यार्थीलाई जुनियर इन्जिनियरिङ अध्ययनमा आकर्षक छात्रवृत्ति दिने भएको छ ।

मेचीनगरको वडा नं. १० स्थित धुलाबारी क्याम्पसमा उक्त शिक्षालय सञ्चालन हुँदै आएको छ । मेचीनगर नगरपालिका र सीटीइभीटीको साझेदारीमा सञ्चालन भएको हुँदा यहाँको पढाईको गुणस्तर अब्बल र शुल्क थोरै हुने गरेको छ ।

एसईईमा ३.८ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीहरुलाई सेमिस्टार शुल्कमा फुल स्कलरशिप (पूर्ण छात्रवृत्ति) दिइने शिक्षालयका प्रिन्सिपल ई. रुद्र मैनालीले बताउनुभयो ।

उहाँका अनुसार ३.६ देखि ३.७९ जीपीएसम्म ल्याउने विद्यार्थीहरुलाई सेमिस्टार शुल्कमा ५० प्रतिशत छात्रवृत्ति र ३.२ देखि ३.५९ जीपीएसम्म ल्याउनेलाई एडमिसन शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने भएको छ ।

यसबाहेक मेचीनगर नगरपालिकाका १५ वटै वडा कार्यालयबाट सिफारिस लिएर पढ्न आउने विद्यार्थीहरुलाई एडमिसन शुल्कमा ५० प्रतिशत छात्रवृत्ति दिइने उहाँले जानकारी दिनुभएको छ ।

के के पढाइन्छ यहाँ

मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूट (मेचीनगर बहुप्राविधिक शिक्षालय)मा इन्जिनियरिङ विषयको तीन बिधाहरु सिभिल, आर्किटेक्चर र सूचना प्रविधि (आइटी)मा तीन वर्षे डिप्लोमा तहको पढाई हुने प्रिज्सिपल मैनालीले बताउनुभएको छ ।

एसईई उत्तीर्ण भएका विद्यार्थीहरुले प्लस टु (११ र १२ कक्षा)को समकक्षता सरहको प्राविधिक शिक्षा लिनका लागि तीन वर्षे डिप्लोमा तहको अध्ययन गर्दै आएका छन् । 

प्राविधिक विषय पढेपछि रोजगारीको ग्यारेन्टी हुने भएका कारण अधिकांश विद्यार्थीले तीन वर्षे डिप्लोमा पढ्न रुचाउने गरेको उहाँको भनाई छ । यो कुनै तालिम नभएर एकेडेमिक शिक्षा नै भएको उहाँले बताउनुभयो ।

मेचीनगर बहुप्राविधिक शिक्षालयमा भिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि (आईटी) अध्ययन गर्न पाउँछन् । यसलाई जुनियर इन्जिनियरको पढाई पनि भन्ने गरिएको छ ।

तीन वर्षे डिप्लोमा तहको प्राविधिक विषय उत्तीर्ण भएपछि देश विदेशको जुनसुकै विश्वविद्यालयमा स्नातक तहको इन्जिनियरिङ तहमा पढ्न योग्य मानिन्छ । तीन वर्षे डिप्लोमा तह उत्तीर्ण विद्यार्थीले लोकसेवा आयोगमा पाँचौ तहको जागिरमा प्रतिष्पर्धा गर्न पाउँछन् ।

कति लाग्छ खर्च 

मेचीनगर बहुप्राविधिक शिक्षालय सरकारी शिक्षण संस्था भएकाले यहाँको शुल्क अरुतिरको भन्दा ज्यादै न्युन हुन्छ । 

शिक्षालयका प्रमुख प्रशासक पुष्पराज पौडेलका अनुसार यहाँ सञ्चालित प्रत्येक कार्यक्रम (कोर्स)का लागि एकमुष्ठ शुल्क एक लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

जसमध्ये प्रथम चरणमा भर्ना शुल्क ४० हजार रुपैयाँ र पहिलो सेमेस्टर शुल्क वापत २५ हजार रुपैयाँ गरेर जम्मा ६५ हजार रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । त्यसपछि क्रमिक रुपमा प्रत्येक सेमेस्टारमा २५ हजार रुपैयाँ शुल्क लाग्छ । 

यस शिक्षालय धुलाबारी मोडबाट डेढ किलोमिटर दक्षिण फराकिलो र शान्त वातावरणमा रहेको छ । यहाँ स्मार्ट बोर्डमा पढाई हुन्छ भने यहाँ अत्याधुनिक प्रयोगशाला रहेको छ ।

कति छ कोटा

मेचीनगर बहुप्राविधिक शिक्षालयमा सिभिलमा ४८, आर्किटेक्चरमा ४८ र आइटीमा ४८ गरी १४४ सिटमा मात्र विद्यार्थी भर्ना लिइने प्रिन्सिपल ई। रुद्र मैनालीले जानकारी दिनभयो ।

सीटीइभीटीले नै कोटा तोकिदिने भएकाले त्यसभन्दा बढी विद्यार्थी भर्ना लिन नमिल्ने उहाँको भनाई थियो ।