२० वैशाख २०८१, बिहिवार

किसानका दुःख

कोशीका सवा दुई लाख पशुमा लम्पी स्किन, पाँच हजार मरे

६ साउन २०८०, शनिवार
Image

झापा, ६ साउन । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार ४२३ गाईभैंसी संक्रमित भएका छन् । राँगाभैसीभन्दा गाईगोरुमा रोगको प्रकोप बढी छ ।

लम्पी स्किनबाट आजसम्ममा पाँच हजार ४२ गाईभैंसी मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

निर्देशनालयका फोकल पर्सन डा. देबकुमार दर्लामीका अनुसार लम्पी स्किनको संक्रमण कोशीका १४ वटै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ । 

प्रदेशभर चार हजार ९७९ गाईगोरु र ६१ रागाभैंसी मरेका छन् । जसमध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाईगोरु र राँगाभैंसी मरेको निर्देशनालयले जनाएको छ ।

झापामा ५०४, पाँचथरमा ४२२, मोरङमा ४८८, उदयपुरमा ३८५, सुनसरीमा ३६२, खोटाङमा २७९, धनकुटामा २७७, संखुवासभामा २८५, ओखलढुंगामा २०२, तेह्रथुममा १४४, ताप्लेजुङमा १७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैंसी लम्पी स्किनको संक्रमणबाट मरिसकेका छन् ।

मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन् । आजसम्मको तथ्यांक अनुसार पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैंसी लम्पी स्किनबाट संक्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा. दर्लामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार इलाममा ३१ हजार ३४९, धनकुटामा २१ हजार ५६८, उदयपुरमा २१ हजार १८८, सुनसरीमा १७ हजार ८८६, तेह्रथुममा १५ हजार ९८६, मोरङमा १३ हजार ८९०, संखुवासभामा १३ हजार ४६०, खोटाङमा १२ हजार ९१०, ओखलढुंगामा सात हजार ६९४, ताप्लेजुङमा सात हजार ६२३, भोजपुरमा सात हजार १५२ र सोलुखुम्बुमा ७०५ गाईगोरु र राँगाभैंसीमा लम्पी स्किमको संक्रमण पुष्टि भइसकेको छ । 

लम्पी स्किनको संक्रमण गाईगोरुको तुलनामा राँगाभैंसीमा न्यून संख्यामा देखिएको छ । कोशी प्रदेशमा संक्रमित संख्यामध्ये गाईगोरु दुई लाख २३ हजार ७२६ छ भने राँगाभैंसीको संख्या एक हजार ८१७ मात्र रहेको छ ।

एक लाख बढीलाई खोप

लम्पी स्किन रोगको संक्रमण रोक्न कोशी प्रदेश सरकारले ११ वटा जिल्लामा पशुहरुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । पशु स्वास्थ्य प्राविधिकले गोठमै पुगेर पशुहरुमा खोप लगाइरहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त प्रमुख डा. पशुपति ढुंगानाका अनुसार कोशी प्रदेशका ११ वटा जिल्लाका एक लाख सात हजार ५१० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

सबैभन्दा बढी झापामा ३० हजार ४५६ वटा पशुमा लम्पीविरुद्धको खोप लगाइएको छ । इलाममा २७ हजार ५४, पाँचथरमा १४ हजार ३००, ताप्लेजुङमा नौ हजार १००, मोरङमा पाँच हजार ७८२, उदयपुरमा एक हजार ६८६, खोटाङमा चार हजार १९२, ओखलढुंगामा चार हजार ६७५, सोलुखुम्बुमा दुई हजार ६००, धनकुटामा दुई हजार २०० र सुनसरीमा पाँच हजार ४७५ पशुमा खोप लगाउने कार्य सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । पहाडी जिल्लाहरु धनकुटा, संखुवासभा र भोजपुरमा लम्पीविरुद्धको खोप लगाउन बाँकी नै छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।