२० वैशाख २०८१, बिहिवार

अब नुन, भुटुन र सागसब्जी किन्न इन्डिया जाने प्रवृत्ति निरुत्साहित

५ साउन २०८०, शुक्रवार
Image

झापा, ५ साउन । मेची भन्सार कार्यालय काँकडभिट्टाले एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जानेहरु निरुत्साहित भएका छन् ।

पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकाहरुलाई भन्सार शुल्क तिराउन नाकामै चेकजाँचमा कडाई गर्न थालेका छन् । भन्सार र सुरक्षाकर्मीको कडाईपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको छ ।

भन्सार विभागको निर्देशन अनुसार यो नियम कडाइका साथ लागू गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । “साउन १ गतेदेखि नै हामीले यो नियम लागू गरिसकेका छौ.,” उहाँले नयाँ नियम बारे जानकारी दिदै भन्नुभयो–“देशभरका सीमा नाकाहरुमा यो नियम लागू भएको हो । कसैले जबर्जस्ती भन्सार नतिरी लैजान खोजे सामान जफत हुनेछ ।”

सीमावर्ती भारतीय बजार पानीटंकी, नक्सलबाडी र सिलिगुढीबाट किनमेल गरेर आउनेहरुले यसअघि काँकडभिट्टा नाकाबाट भन्सार शुल्क नतिरी घरायसी सामान भित्राउँदै आएका थिए । भन्सारको कडाईपछि सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेहरु निरुत्साहित भएका छन् ।

स्थानीयबासी चिनी, तेल, दाल, सागसब्जी, लत्ताकपडा लगायतका घरायसी बस्तुको किनमेल गर्न भारतीय बजार धाउँदा झापाका काँकडभिट्टा, धुलाबारी जस्ता सीमाका ठूला बजार सुनसान बन्ने गरेका थिए । अब यी बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई बताउनुहुन्छ ।

भारतबाट किनमेल गरेर ल्याइएको रु. एक सयभन्दा बढीको सामानमा शुल्क लगाउने भन्सारको नयाँ नीतिलाई मेची उद्योग वाणिज्य संघको समर्थन रहेको र कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न संघ तयार रहेको अध्यक्ष प्रसाईले बताउनुभयो ।

“बिहान बेलुकै नुन, तेल, भुटुन र सागसब्जी किन्न इन्डियाको बजार जाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी थियो,” उहाँले भन्नुभयो–“नेपालका बजारमा सामान विक्री नभएर व्यवसायीले पलायन हुनुपर्ने अवस्था आइसक्यो । भन्सारको कडाईले स्थानीय बजारलाई पुरानै लयमा फर्काउन मदत पुग्ने अपेक्षा गरेका छौं ।”

मेचीनगर नगरपालिकाले भन्सारको नयाँ नियमलाई सघाउने जनाएको छ । मेचीनगर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना उप्रेतीले आज पत्रकार सम्मेलन गरी भारतबाट रु. एक सयभन्दा बढीको सामान आयात गर्दा भन्सार शुल्क लगाउने नीति स्वागतयोग्य भएको बताउनुभयो । 

उहाँले आयातित मालसामानमा आयातकर्ता र बजार बितरकको पूरा विवरणसहितको लेबल लगाउन भन्सारले अनिवार्य गरेको विषय पनि स्वागतयोग्य भएको बताउनुभयो । “राज्यलाई कर छलेर सीमावर्ती भारतीय बजारलाई पोस्ने गतिविधि रोक्ने भन्सार नीतिलाई कडाइका साथ लागू गराउन नगरपालिकाको अनुगमन समितिले सहयोग गर्छ,” कार्यवाहक नगरप्रमुख उप्रेतीले भन्नुभयो–“आयातित सामानको गुणस्तरप्रति उपभोक्तालाई विश्वास दिलाउन र ब्रान्डको दुरुपयोग रोक्न आयातकर्ता र बजार बितरकको लेबल अनिवार्य लगाइनु पर्छ । यदि लेबल नलगाई सामान बेचेको भेटिएमा जफत गर्नेछौं ।” 

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले आयातित मालसामानमा साउन १ गतेदेखि आयातकर्ता र बजार वितरकको लेबल लगाउन अनिवार्य गरिएको बताउनुभयो । यदि कुनै आयातकर्ता र बजार वितरकले लेबल नटाँसी सामान बजारमा लगेको पाइएमा नेपाल सरकारका अनुगमनकारी कुनै पनि निकायले सामान तत्काल जफत गर्ने कानूनी व्यवस्था उहाँले बताउनुभयो ।