२० वैशाख २०८१, बिहिवार

कांग्रेस नेताले बैठकमै भन्नुभयो–‘खाँणलाई थुनामा जानबाट बचाउन सकिन्थ्यो’

६ साउन २०८०, शनिवार
Image

झापा, ६ साउन। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पुर्पक्षमा जानबाट पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्न सकिने अवस्था हुँदाहुँदै किन रोकिएन भनि पार्टीको केन्द्रीय समिति बैठकमा प्रश्न उठाउनु भएको छ ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा श्रेष्ठले शुक्रवार भन्नुभयो, ‘एउटा साथी पुर्पक्षमा थुनिएको छ । पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो होला किन रोकिएन ?’

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँण पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

खाँणले गल्ती गरेको र नगरेको निर्णय नआएको बताउँदै श्रेष्ठले पुर्पक्षमा जसलाई पनि राख्न सकिने (नराख्न पनि सकिने ?) बताउनु भयो । उहाँले भन्नुभयो, ‘पुर्पक्षमा गयो भन्दैमा त्यसलाई दोषी ठान्नुहुँदैन ।’

खाँणको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल नगर्न श्रेष्ठले आग्रह गर्नुभयो । निर्दोष भएर खाँण निस्कने अपेक्षा सबैले राख्नुपर्ने उहाँले बताउनुभयो ।

(अनलाइन खबर)