२१ वैशाख २०८१, शुक्रवार

रिपोर्टरको डायरी

‘लाहुरे सपना’ भत्किदा सडकमै पुगे ज्ञानबहादुर

९ साउन २०८०, मङ्गलवार
Image

साङरुम्बा (इलाम), ७ साउन । कोही नयाँ मानिस देख्नासाथ इलाम–१२ साङरुम्बाका ५० वर्षीय ज्ञानबहादुर तामाङ उभिन्छन् र एकटकले हेरिरहन्छन् । बोलायो भने नबुझिने लवजमा केही गुनगुन गर्छन् । चुरोट र खैनी मागेको इशारा गर्छन् । कसैले दिइहाल्यो भने हाँस्दै लिन्छन्, नत्र चुपचाप आफ्नो बाटो लाग्छन् ।

साउन ७ गते विहानै ज्ञानबहादुरसँग साङरुम्बा वडा कार्यालय छेउको सडकमा जम्काभेट भयो । स्थानीयबासीसँग सोधपुछ गर्दा उनी डिप्रेसनको बिरामी भएको थाहा भयो । आमाको मृत्यु भइसकेको रहेछ । बुवा पनि सुस्त मनस्थितिका छन् । एउटा भाइ मेघराज थियो रे । भाइ पनि जनयुद्धकालमा माओबादीको लडाकु भएर हिँडेपछि गाउँबाट पलायन भइसकेका रहेछन् । 

यति हँसिला तन्नेरी ज्ञानबहादुर कसरी डिप्रेसनको शिकार भए भनेर जान्न मन लाग्यो । स्थानीयबासीले बताए अनुसार उनी डिप्रेसनमा पुग्नुका पछाडिको कथा व्यथा मार्मिक रहेछ ।

स्थानीय भक्त रायाका अनुसार एसएलसी पास गरेका ज्ञानबहादुर बेलायतको लाहुरे बन्न चाहन्थे । स्कुल पढ्दादेखिको लाहुरे बन्ने सपना पूरा गर्न उनले गाउँमा बालुवाका बोरा बोकेर दौडने कठिन अभ्यास गर्थे । बडीबुवाको छोरा अर्थात एउटा दाजु पनि उनीसँगै दौडने अभ्यास गर्थे । 

लाहुरे छनौटका लागि दुबै जना पोखरासम्म पुगे । संयोगले ज्ञानबहादुर खाली हात घर फर्कनु पर्यो । उनका दाजु लाहुरे भएर बेलायत पुगे । लाहुरे बन्न नसकेको त्यही पीरले उनी डिप्रेसनको शिकार भएका रहेछन् ।

‘लाहुरे बन्ने सपना विफल भएपछि साथी (ज्ञानबहादुर तामाङ) पोखराबाट गाउँ फर्कियो,’ भक्तबहादुर रायाले सुनाउनुभयो–‘निराश देखिन्थ्यो, एक्लै बोल्दै हिँड्न थाल्यो । घरमा पनि बस्न छाड्यो । डिप्रेसनले च्यापेर विस्तारै उ सडकमा हिँडिरहने पो भयो ।’

अहिले साङरुम्बामा ज्ञानबहादुरको घर घडेरी खाली छ । जहाँ पुग्यो, जसकामा पुग्यो, त्यही बस्ने बानी छ ज्ञानबहादुरको । स्थानीयबासीका अनुसार कसैको घरमा खानेकुरा देख्यो भने उनले आफै झिकेर खाने गर्दारहेछन् । हाँसिरहन्छन्, हिँडिरहन्छन् ज्ञानबहादुर । उनको उपचार बेलैमा हुन सकेको भए यस्तो अवस्थामा पुग्ने थिएनन् ।

साङरुम्बाबासीले उनलाई प्यारो गरेर ‘ज्ञाने’ भनेर बोलाउँछन् । खानेकुरा पनि दिन्छन् । राति आइपुगे भने बास पनि दिन्छन् । लाहुरे बन्न नपाउँदा असन्तुलित भएका ज्ञानबहादुर अहिलेसम्म सन्तुलित हुन सकेनन् । सायद अब उनको जिन्दगी यसरी नै बित्छ होला ।

मैले क्यामेरा तेस्र्याउँदा ज्ञानबहादुरले उभिएर पोज दिए । सायद उनी मसँग चुरोट र खैनी चाहन्थे । मैले ती बस्तु चाहिँ दिन चाहिन । दोकानबाट बिस्कुट किनेर हातमा थमाइदिएँ र पानीटारतिरको उकाले लागेँ ।


लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)