२० वैशाख २०८१, बिहिवार

बंकरमा यातना पाएका अधिकारीलाई डी. कौडिण्य पत्रकारिता पुरस्कार

७ साउन २०८०, आइतवार
Image

झापा, ७ साउन । झापाका बौद्धिक नेता एवम् क्रान्तिकारी पत्रकार देबकुमार आचार्य (डी. कौडिण्य)को स्मृतिमा स्थापित डी. कौडिण्य पत्रकारिता पुरस्कारबाट पत्रकार दिपक अधिकारी सम्मानित हुनु भएको छ ।

प्रेस सेन्टर नेपालको झापा शाखाले आज विर्तामोडमा एक समारोहबीच अधिकारीलाई २१ हजार रुपैयाँको नगद राशीसहित पुरस्कृत गरेको छ ।

भद्रपुर निवासी पत्रकार अधिकारी नौलो आवाज साप्ताहिकका सम्पादक हुनुहुन्छ । दुई दशकदेखि क्रियाशील उहाँलाई जनयुद्धकालमा माओबादीलाई समर्थन गरेको आरोपमा नेपाली सेनाले बन्दी बनाएर बंकरमा यातना समेत दिएको थियो ।

पत्रकार डी. कौडिण्यलाई तत्कालीन नेपाली सेनाले माओबादीको आरोपमा पक्राउ गरेर २०५९ साउन ७ गते चारआलीको व्यारेकमा हत्या गरेको थियो । पत्रकार, साहित्यकार र राजनीतिज्ञको रुपमा परिचित उहाँको स्मृतिमा हरेक वर्ष प्रेस सेन्टर झापाले पुरस्कार वितरण गर्दै आएको छ ।

गौरीशंकर स्मृति प्रतिष्ठानमा आइतबार आयोजित समारोहका बीच पत्रकार अधिकारीलाई प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले गर्नु भएको थियो । पुरस्कृत पत्रकार अधिकारीको व्यक्तित्वमाथि प्रेस सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मी र डी. कौडिण्यका विषयमा पत्रकार विमल लामिछानेले प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा नेकपा माओवादीका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, प्रदेश सदस्य मणिकुमार साम्पाङ, नेता सीपी कडरिया, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, डी. कौडिण्यकी छोरी तृष्णा आचार्य लगायतको उपस्थिति रहेको थियो ।