१ असोज २०८१, मङ्गलवार

झापामा एक बर्षमा ३३६ जना ड्रग्सका कारोवारी पक्राउ

१० साउन २०८०, बुधवार
Image

मेचीनगर, १० साउन । लागूऔषध सम्बन्धीका २०६ वटा मुद्धा दर्ता भएका मध्ये २०५ वटाको फस्र्यौट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक बर्ष २०७९/०८० मा १७ भारतीय नागरिकसहित ३३६ जना लागूऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु १६ बर्षदेखि ६० बर्षमाथिसम्मका व्यक्तित्वहरु रहेका छन् । 

उहाँले १६ बर्ष मुनिका एक जना, १६ देखि २५ बर्ष उमेर समूहका १२७ जना, ३६ देखि ४५ बर्षका ३८ जना, ४६ देखि ६० बर्षका १२ र ६० बर्षमाथिका एक जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्धा चलाएको बताउनुभयो । 

जिल्लाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, डिगलबैंक, कुमरखोद, कचनकवललगायतका विभिन्न नाकाबाट दैनिक जसो प्रहरीले लागूऔषध प्रयोगकर्ता र कारोवारीलाई नियन्त्रणमा लिइरहेको छ । 

प्रवक्ता रिजालले गत आर्थिक बर्षमा लागू औषध सेवनकर्तालाई मनोपरामर्श दिई आफन्तलाई जिम्मा लगाइएको संख्या ९६२ जना रहेको बताउनुभयो । 

उहाँले एक बर्षको अवधिमा लागू औषधि मुद्धामा करिब दुई केजी ब्राउन सुगर, २८ केजी गाँजा, ११५ लुपिजेसिक, १३० एमपुल डाइजापाम, १२५ एम्पुल फेनरागन, नाइट्रोसन चक्कीलगायत बरामद गरेको जानकारी दिनुभयो ।