१६ वैशाख २०८१, आइतवार

मुख्यमन्त्री कार्यालय गएनन् कार्की, प्रदेश प्रमुखबाट विज्ञप्ति आउने

१२ साउन २०८०, शुक्रवार
Image

विराटनगर, १२ साउन । कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्री को हो भन्ने बारेमा प्रदेश प्रमुखको कार्यालय नै अलमलमा परेको छ ।

सर्वोच्च अदालतले हिजो नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नियुक्ति नै उत्प्रेषणको आदेशबाट बदर गरेपछि एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले कामचलाउ मुख्यमन्त्रीको दावी गर्दै आउनु भएको छ ।

काठमाडौंबाट आज विहान मुख्यमन्त्री कार्यालय जाने मनस्थितिका साथ विराटनगर आइपुग्नु भएको कार्कीलाई मुख्यमन्त्री कार्यालयले झण्डावाल गाडी नपठाएपछि प्रदेश प्रमुख समेत अलमलमा रहेको स्पष्ट भएको हो ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग केहीबेर भेटघाटपछि कार्की प्रमुख प्रतिपक्षी दलको नेताले चढ्दै आएको गाडी चढेर निवासतिर लाग्नुभएको छ ।

प्रदेश संसद्मा कसैको पनि बहुमत नपुग्ने हुँदा कांग्रेससँग मिलेर भए पनि सरकार बनाउन आफुहरु तयार रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्रीको कार्यालयको जिम्मेवारी सम्हालिरहनु भएको प्रमुख सचिव र प्रदेश प्रमुख परशुराम खापुङबीच कसलाई कामचलाउन मुख्यमन्त्री मान्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।

संबैधानिक प्रक्रिया अनुसार मुख्यमन्त्री नियुक्तिको काम प्रदेश प्रमुखले गर्ने चलन छ । त्यसकारण अहिलेको अलमलमा पनि प्रदेश प्रमुखले नै को कामचलाउ मुख्यमन्त्री हो भनेर तोक्नु पर्ने एकथरिको धारणा छ ।

तर, एमाले संसदीय दलका नेता कार्कीले सरकारविहीनताको अवस्था संविधानले कल्पना नगरेको कारण अर्को सरकार गठन नभएसम्मका लागि आफु स्वतः कामचलाउन मुख्यमन्त्री रहेको बताउँदै आउनु भएको छ ।

आज ११ बजे कार्की मुख्यमन्त्री कार्यालयमा जाने तयारीका साथ काठमाडौंबाट आउनु भएको थियो । उहाँसँगै अरु मन्त्रीहरु पनि कार्यभार सम्हाल्न तयार भएका थिए ।

प्रदेश प्रमुख र मुख्य सचिवले आजै यो अलमलको एउटा निकास दिने भएका छन् । अदालतले आउँदो ६ दिनभित्र बहुमतको सरकार गठनका लागि दावी गर्न समय तोकेरै आदेश गरेको हुँदा आज नयाँ मुख्यमन्त्रीको दावी र कामचलाउ को हो भन्ने बारेमा प्रदेश प्रमुखको कार्यालयबाट विज्ञप्ति जारी हुने सम्भावना छ ।