१६ वैशाख २०८१, आइतवार

सभामुखलाई राजीनामा गराएर ४७ पुर्याउने कांग्रेसको तयारी

१२ साउन २०८०, शुक्रवार
Image

झापा, १२ साउन । प्रदेश प्रमुख परशुराम खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुग्नेगरी मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न चार दिनको समय दिनु भएपछि अबको मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले बहुमत पुर्याउने खेलमा आफ्नो दल तत्काल नलाग्ने बताइसक्नु भएको छ ।

यसको अर्थ उहाँ बहुमतको सरकार गठन नहुने स्थिति आएमा त्यसपछि ठूलो दलको नेताको हैसियतमा नयाँ सरकार गठनको आशामा हुनुहुन्छ ।

नेपाली कांग्रेसका एक उच्च नेताका अनुसार अब नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन दावीका लागि आवश्यक तयारी सुरु भइसकेको छ ।

उनका अनुसार मुख्यमन्त्री पदमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई नै अघि सारिने र बहुमत अर्थात ४७ मत पुर्याउन सभामुखलाई राजीनामा दिनका लागि छलफल भइरहेको छ ।

नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एस र जसपाको गठबन्धनसँग ४६ मत छ भने नेकपा एमाले र राप्रपासँग पनि ४६ नै मत रहेको छ । सभामुखले मत दिन नपाउने अदालतको आदेश आइसकेको छ ।

प्रदेश प्रमुखले सर्वोच्च अदालतको आदेश अनुसार बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नु भएकाले बहुमत पुर्याउन अहिलेकै समीकरण यथावत रहेमा सभामुखलाई राजीनामा गराउनु मात्र विकल्प छ ।

“अरु बिल्कप पनि होलान्, हेरौला,” कांग्रेसका उच्च नेताले भन्नुभयो-“तर अहिलेका लागि जुन त्रुटी हामीले बिगतमा गरेका कारण हण्डर खानुपर्यो, त्यही त्रुटी सच्याएर अहिलेकै गठबन्धनका आधारमा कांग्रेसले मुख्यमन्त्री दावी गर्छ ।”

सभामुख माओबादी पार्टीबाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको हो । माओबादीलाई यसका लागि मनाउने कांग्रेसको दावी छ । सभामुखले राजीनामा दिएपछि एमालेले उपसभामुखलाई पनि राजीनामा गराउने चेतावनी दिदै आएको छ । उपसभामुखको राजीनामा आएमा ज्येष्ठ सदस्यले सदन चलाउनु पर्ने हुन्छ । ज्येष्ठ सदस्य नेपाली कांग्रेसकै हुनुहुन्छ । 

“कांग्रेसले अरु ककसले राजीनामा गर्छ, त्यो सोच्दैन,” कांग्रेस नेताको जिकीर छ-“अहिलेलाई त्रुटी सच्याउनु भनेको सभामुखलाई समर्थनमा लिन पदबाट राजीनामा गराउनु हो । त्यसो भएमा हाम्रो ४७ मत पुगिहाल्छ ।”