१६ वैशाख २०८१, आइतवार

सभामुखलाई राजीनामा गराएर थापाले आजै मुख्यमन्त्री दावी गर्ने

१६ साउन २०८०, मङ्गलवार
Image

झापा, १६ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । 

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज ५ बजे सकिंदैछ ।

गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने तयारी गरेको हो ।

तर पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने लगभग निश्चित जस्तै छ ।

गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेश गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

परमादेशपछि सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेश गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राप्रपाले समर्थन नगरेको अवस्थामा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी पेश गर्ने बताए ।

गठबन्धन दलका नेताहरु काठमाडौंमै छन् । बालुवाटार पुगेर विराटनगर आउने उनीहरुको तयारी छ । माओवादी केन्द्रका दलका नेता आङ्बोले शीर्ष नेताले बालुवाटार बोलाएको बताए ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखलाई राजीनामा गराएपछि), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।

सभामुखको राजीनामालाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टि छ । माओवादी सांसद गणेश उप्रेती सभामुखलाई राजीनामा गराउनु आत्मघाती कदम हुने बताउँछन् । ‘विश्वासको मत पाउने ग्यारेन्टी नभई सभामुखलाई राजीनामा गराउनु आत्मघाती कदम हो,’ उप्रेतीले भने,–‘पार्टीले यस्तो गम्भीर गल्ती गर्नुहुँदैन ।’