२५ वैशाख २०८१, मङ्गलवार

‘विषादी जाँच्ने प्रयोगशाला’ खुलाउन सरकारको ध्यानाकर्षण

१८ साउन २०८०, बिहिवार
Image

झापा, १८ साउन । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको विर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी विकास मन्त्रालयलाई पत्र पठाएर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको हो ।

साउन १२ गतेदेखि प्रयोगशालाको सेवा बन्द भएपछि हाल तरकारी तथा फलफूलको विषादी अवशेष नजाँची विक्री वितरण भइरहेको छ । यसबाट मानव स्वास्थ्यमा असर परिरहेको जनगुनासो आएको जनाउँदै अभियानले प्रयोगशाला सञ्चालन नगरिए उपभोक्ताहरु सडकमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

‘आम नागरिकदेखि राष्ट्रपतिसम्म र मजदूरदेखि माननीयसम्म सबैको भान्सामा पुग्ने तरकारी र फलफूल आयात हुने नाका र विक्री वितरण हुने बजार एउटै हो,’ अभियानले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ–‘उपभोक्ताको हितलाई सर्वोपरि ठानी हाम्रा मागहरु पूरा गर्न आग्रह गर्दछौं । हाम्रो मागलाई वेवास्ता गरिएमा र खाद्य वस्तुमार्फत मन्द विष खानुपर्ने बाध्यता सिर्जना भइरहेमा आम नागरिकको हक, हित र स्वास्थ्य सुरक्षाका लागि उपभोक्ता जागरण अभियान झापा सडकमा उत्रिन बाध्य हुने समेत अग्रिम जानकारी गराउँदछौं ।’

यसैगरी, भारतबाट आयातित हुने तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षणका लागि काँकरभिट्टामा सञ्चालित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय ९खाद्य प्रयोगशाला० अझ बढी प्रविधियुक्त बनाउन, विषादी अवशेष जाँच कडाइका साथ गर्न, नमुना संकलन सरकारी कर्मचारी आफैले गर्न, जाँच पास नभइकन कुनै पनि सामान भन्सारबाट बाहिर जान नदिन र जाँच प्रतिवेदन जनहितका लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउन अभियानले माग गरेको छ ।

नजिकिदै गरेको नेपालीका चाडपर्वहरु, सीमा नाकामा राज्यले गरेको कडाई र रुस–युक्रेन युद्धको बहानामा बजारमा खाद्यान्न, तरकारी, फलफूल लगायत दैनिक उपभोग्य बस्तुको अस्वाभाविक ढंगले तस्करी, मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी भइरहेको जनगुनासो आइरहेको विषयमा अभियानले प्रमुख जिल्ला अधिकारी र स्थानीय पालिकाहरुको ध्यानाकर्षण गराएको छ ।

अभियानले उपभोक्ता हित विपरीतको धन्धामा लागेका जोकोहीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन र बजार अनुगमन प्रभावकारी रुपमा गर्न माग गरेको छ ।

उपभोक्ता जागरण अभियान नेपालका कोशी प्रदेश अध्यक्ष राजेन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी पोखरेललाई कार्यकक्षमै भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो ।

टोलीमा अभियानका झापा अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा लगायत कान्तिपुर र राससका पत्रकारहरु सहभागी हुनुहुन्थ्यो ।