२२ वैशाख २०८१, शनिवार

स्वीकृतिको संस्थामा ‘केपी बा’लाई निम्तो

१९ साउन २०८०, शुक्रवार
Image

झापा, १९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी कार्यकर्ताहरुले ‘बा’ को सम्बोधन गर्छन् । अब विस्तारै यही नामले उनी पार्टीबाहिर पनि ब्रान्डिङ हुन थालेका छन् ।

मंगलवार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृति शर्मा आफ्ना केही साथीहरुसहित ओली निवास बालकोट पुगिन् । उनीहरु त्यहाँ पुग्दा ओली टेबलटेनिस खेलिरहेका थिए । उनले विद्यार्थीहरुलाई बोलाएर आफ्नो कोठाभित्रै लगे ।

ओलीसँग विद्यार्थीहरु निकै झ्याम्मिएका थिए । उनीहरुले ओलीलाई ‘बा’ सम्बोधन गर्दै खुलेर आफ्ना कुरा राखे । खासमा उनीहरु ‘एड टक्स’ नाम संगठनका तर्फबाट त्यहाँ गएका थिए । उनीहरुले ओलीलाई आउँदो भदौ १८ गते बुबाको मुख हेर्ने दिनमा आयोजना गर्ने विशेष कार्यक्रमको निम्तो दिएका छन् । ओलीले विद्यार्थीहरुको निम्तो सहजै स्वीकार गरे ।

एड टक्सले जनाएअनुसार ‘बासँग विद्यार्थी’ नाममा कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ । उक्त भेटघाटको भिडिओ टिकटकमा अपलोड गरिएको छ, जसलाई ओलीले आफ्नो पेजबाट शेयर गरेका छन् । उनले भेटघाट रमाइलो भएको र आफूलाई खुशी लागेको जनाएका छन् ।

-नेपाल प्रेस