६ असार २०८१, बुधवार

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

१९ साउन २०८०, शुक्रवार
Image

झापा, १९ साउन । पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानको रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउनु हुन्छ । तर, उहाँको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ । 

“२०६७ सालमै एक सय पचास झ्याङ रापेर किबी खेती सुरु गरेको हुँ,” उहाँ मनको बह पोख्दै भन्नुहुन्छ–“यसपाली साह्रै राम्रो फलेको छ । कार्तिकदेखि पाक्न सुरु हुन्छ । तर, बजारमा भाउ पाइएन भने त बर्बादै हुन्छ नि ।”

पूर्वी पहाडको इलाम र पाँचथरमा किबी खेती विस्तार भइरहेको छ । भूबनोट र हावापानीका कारण विज्ञहरुले इलामलाई किबीको खानी नै मानेका छन् । राम्रो फलेर मात्र हुँदोरहेनछ । बिक्री गर्ने बेलामा कौडीको मोलमा बिचौलियालाई दिनुपर्दा किसानहरु निराश हुने गरेका छन् ।

इलामको देउमाई, साखेजुङ, सन्दकपुर र माइपोखरीमा किबी खेती प्रवर्धनका लागि ‘किबी जोन’ नै सरकारले घोषणा गरेको छ । पाँच सय हेक्टर जग्गामा किबी खेती भएपछि कृषि तथा पशुपंछी विकास मन्त्रालयले ‘किबी जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सहयोग गर्दछ । 

‘किबी जोन’मा सरकारले किसानलाई प्रविधि, उपकरण, अनुदान र तालिम सम्बन्धी सहयोग दिदै आएको छ । इलामका किसानहरु सरकारले किबीको उत्पादन बढाउन सहयोग गरे तापनि दीगो बजारका लागि पर्याप्त मदत नगरेको गुनासो सुनाउँछन् ।

कटुवालले किबीको व्यावसायिक खेतीका लागि पानीटार कृषि फार्म स्थापना गर्नुभयो । कृषि ज्ञान केन्द्र इलामले किबीको लहरालाई फलामको दीगो थाङ्ग्रा हाल्न सुरुमा रु. पाँच लाख अनुदान दिएको थियो । थाङ्ग्रो हाल्न मात्रै रु. सात लाख निजी लगानी गरेको उहाँले बताउनुभयो । वर्षेनी किबी खेती विस्तार गर्दै उहाँले अहिले देउमाईकै सबैभन्दा ठूलो किबी फार्म सञ्चालन गरिरहनु भएको छ ।

किबीलाई स्वादिलो र पौष्टिक फल मानिन्छ । यसको बजार भने झापाको विर्तामोड, मोरङको विराटनगर, सुनसरीको धरान र काठमाडौं नै हो । किसानहरुले उत्पादन गरेको किबी फल कतिपय व्यवसायीहरुले फार्ममै आएर खरिद गर्छन् भने व्यापारी नआउँदा टिपेर बजार पुर्याउने गरेको उहाँले बताउनुभयो ।

किसानहरुका अनुसार कार्तिक महिनादेखि माघसम्मको चार महिना किबी पाक्ने बेला हो । चरा, भ्याउसो नामको जंगली जनावरले किबीको बोटमै गएर खाएर बाली नष्ट गर्दै आएको हुँदा पाकेका बेला रुँघेर खेतबारीमै बस्नु पर्ने हुन्छ ।

“एक सिजनमा ४० देखि ५० क्वीन्टल किबी फल्छ,” पानीटार कृषि फार्मका सञ्चालक तेजबहादुर कटुवालले भन्नुभयो–“सुरुका वर्षहरुमा बोटमै टिपेर क्वीन्टलको ५० हजार रुपैयाँका दरले भाउ हालेर खरिदेले लैजान्थे । गत वर्ष मुस्किलले १५ हजारका दरले दिए । यसपाली पनि भाउ बढेन भने डुबिने भइयो ।”

भारतबाट सस्तो किबीको निर्वाध आयात भइरहेको कारण स्थानीय उत्पादनले बजारमा उचित भाउ नपाएको किबी उत्पादक कटुवालको भनाई छ । उहाँका अनुसार इलाममा प्रशस्त किबी उत्पादन भए तापनि सरकारले जुस, जाम र वाइन कारखाना खोल्न प्रोत्साहित गरेन । 

धनकुटाको राजारानीमा माउन्ट एभरेस्ट वाइनरी प्रालिले किबीबाट वाइन उत्पादन गरिरहेको छ । कटुवालले किबीको सबैभन्दा बढी उत्पादन हुने इलाममै वाइन, जुस र जामको कारखाना खोल्न सके किबी किसानहरु लाभान्वित हुने बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० मा काँकडभिट्टा नाकाबाटै रु. दुई करोड ८५ लाख २० हजार मूल्य बराबरको ७१ मेट्रिक टन भारतीय किबी भित्रिएको पाइएको छ । भारतबाट भित्रिने किबी सस्तो हुने गरेको छ । 

कोशी प्रदेशका झापा र सुनसरी बाहेक १२ जिल्लामा किबीको व्यावसायिक खेती हुँदै आएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविज्ञ सार्थक घिमिरेका अनुसार कोशी प्रदेशको किबी रोपिएको कूल क्षेत्रफलमध्ये आधाभन्दा बढी खेती इलाममै छ ।

उहाँका अनुसार कोशी प्रदेशमा एक हजार २७८ हेक्टर क्षेत्रफलमा किबी खेती छ भने वार्षिक उत्पादन तीन हजार ५४७ मेट्रिक टन रहेको छ । जबकि, इलामको किबी खेती सात सय हेक्टरमा विस्तार भइसकेको छ भने वार्षिक उत्पादन एक हजार ५०० मेट्रिक टन रहेको छ । 

नेपालभर दुई हजार ५९९ हेक्टर क्षेत्रफलमा किबी खेती गरिएको र त्यसबाट सात हजार ६९८ मेट्रिक टन फल उत्पादन हुँदै आएको छ । कृषि अर्थविज्ञ घिमिरेका अनुसार देशभरको किबी खेतीमध्ये आधा इलाममै रहेको छ ।

इलामपछि पाँचथरमा २५० हेक्टर र सोलुखुम्बुमा ११५ हेक्टर क्षेत्रफलमा किबी खेती हुँदै आएको छ । खोटाङमा ४०, संखुवासभामा ३६, भोजपुरमा ३५, ताप्लेजुङमा ३०, धनकुटामा २४, तेह्रथुममा १६, उदयपुरमा १५ र मोरङमा १५ हेक्टर क्षेत्रफलमा किबी खेती हुँदै आएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।