२ कार्तिक २०८१, शुक्रवार

‘कैदीबन्दीको विरोध साम्य भइसक्यो’

१९ साउन २०८०, शुक्रवार
Image

फोटो / इश्वर अधिकारी

चन्द्रगढी, १९ साउन । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले झापा कारागारमा कैदीबन्दीले गरेको विरोध साम्य भइसकेको बताउनु भएको छ ।

आज दिउँसो ३ बजेतिर मनोज लावती नाम भएका कैदीलाई झुम्का सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीले विरोध जनाउँदै कारागारमा हुलदंगा गरेका थिए । कारागारभित्र नाराबाजीको चर्को स्वर बाहिर टाढासम्म सुनिएको थियो ।

हुलदंगाको क्रममा कारागारभित्र आगजनी र बाहिरतिर ढुंगामुढा भएको प्रहरी उपरीक्षक देर्गाराज रेग्मीले बताउनुभयो । कैदीबन्दीले प्रहरी र कारागार प्रशासनलाई भित्र पस्न दिएका थिएनन् ।

अपराह्न तीन बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान भित्रबाट बाहिर निकालेका थिए । कैदीबन्दीले नाराजुलुस र ढुंगामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो । 

प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै शान्त भएको बताउनुभयो । ‘सरुवा भएका कैदीलाई फेरि भित्र (कारागारमै) पठाइएको छ,’ प्रजिअ पोखरेलले लोकतन्त्र पोस्टसँग भन्नुभयो–‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । के के क्षति भयो भनेर हेर्ने काम सुरु भइसकेको छ ।’

उहाँले कैदीबन्दीको हुलदंगाका क्रममा कुनै मानवीय क्षति नभएको बताउनुभयो । सरकारी सवारी साधनहरु भने ढुंगामुढाले क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

आगो निभाउन मेचीनगर, भद्रपुर र विर्तामोडको दमकल कारागार पुगेका थिए ।