२४ वैशाख २०८१, सोमवार

डिलरहरुले घटेको दाममा ग्यास बेच्न नमानेको जनगुनासो

१९ साउन २०८०, शुक्रवार
Image

मेचीनगर, १९ साउन । नेपाल आयल निगमले घटाएको नयाँ मूल्यमा खाना पकाउने ग्यास बेच्न डिलरहरुले आनाकानी गरेको जनगुनासो आउन थालेको छ ।

मेचीनगर–७ इटाभट्टाको रेजिना हार्डवेयर (कोशी ग्यास डिलर)बाट त्यस्तै आनाकानी गरेको उपभोक्ताले गुनासो गरेपछि उपभोक्ता जागरण अभियान झापाको पहलमा शुक्रवार साँझ पसलेलाई घटेको नयाँ मूल्यमै ग्यास विक्री गर्न लगाइएको छ ।

निगमले साउन १६ गते मध्यरातदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाएर रु. १,६६०/– तोकेको छ । पुरानो मूल्य रु. १,७९०/– थियो ।

मेचीनगर–७ निवासी ८० वर्षीय चन्द्रकान्त साहले विहीवार उक्त हार्डवेयरमा जाँदा ग्यासको पुरानो दाम मागिएको बताउनुभयो । त्यसपछि उहाँ ग्यास नकिनी घर फर्किनु भएको थियो । 

साहले उपभोक्ता जागरण अभियान झापा गुहार्नु भएपछि अभियानका जिल्ला अध्यक्ष मोहन काजी स्थानीय उपभोक्ता, सञ्चारकर्मी र पीडित व्यक्तिलाई लिएर शुक्रवार साँझ रेजिना हार्डवेयर जानु भएको थियो ।

नेपाल आयल निगमले जारी गरेको नयाँ मूल्यमै ग्यास विक्री गर्नुपर्ने विषयमा अभियानका अध्यक्ष काजीले पसल सञ्चालकहरुको ध्यानाकर्षण गर्नु भएपछि विक्रेताले नयाँ मूल्यमै साहलाई ग्यास दिनुभएको थियो ।

उक्त अवसरमा मेचीनगर वडा नं. ७ का मेलमिलापकर्ता पिताम्बर पौडेल, ज्येष्ठ नागरिक वडा समितिका सचिव अम्बर परियार र स्थानीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।