१२ कार्तिक २०८३, बुधवार

स्वदेशी फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग

१२ कार्तिक २०८३, बुधवार
Image

झापा, ११ कात्तिक । फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरुले स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग गरेका छन् । 

उनीहरुले भारतबाट हुने फूलको आयातलाई रोक लगाएर स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने वातावरण सिर्जना गरिदिन समेत जोडदार माग गरेका छन् ।

केही वर्षयता झापामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । तर, भारतबाट आयातित फूलका कारण स्वदेशी उत्पादनले बजार नपाउँदा बोटमै खेर जाने समस्या उत्पन्न भएकाले राज्यको ध्यानाकर्षण गर्नु परेको विर्तामोडकी कृषक शुष्मा पौडेलले बताउनुभयो ।

पौडेलको नेतृत्वमा २० जना व्यावसायिक कृषकको टोलीले मंगलवार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सात बुँदे मागपत्र बुझाएको छ । मागपत्रको पहिलो बुँदामा नै स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिइनु पर्ने माग गरिएको छ ।

स्वदेशी उत्पादनले स्थानीय माग धान्न सक्ने अवस्था रहेको उल्लेख गर्दै भारतीय फूलको आयात रोक्न नीतिगत पहल गरिनु पर्ने कृषकहरुको अर्को माग छ । 

स्वदेशी उत्पादनको संरक्षण र लगानीको सुरक्षाका लागि भारतबाट फूलको आयातमाथि रोक लगाइनु पर्ने आफूहरुले प्रजिअ पोखरेलसँग माग राखेको कृषक पौडेलले बताउनुभयो ।

झापामा १५ देखि २० हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको कृषकहरुको भनाई छ । विगतमा स्थानीय फूलले उचित बजार नपाउँदा ठूलो आर्थिक क्षति बेहोर्नु परेको कृषकहरुको गुनासो छ ।

विर्तामोड, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी लगायतका क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती हुने गरेको छ । लाखौँको लगानी, श्रम र समय खर्चिएर गरिएको फूल खेतीले रोजगारी र आय आर्जनको नयाँ ढोका खोलेको भए तापनि बजार र लगानीको संरक्षणमा राज्यले पर्याप्त चासो नदिएको किसानहरुको भनाई छ ।

भारतबाट हुने अनाधिकृत आयात नियन्त्रणका लागि सीमा र भन्सारमा प्रभावकारी अनुगमन गरिदिन, स्थानीय उत्पादनको न्यायोचित मूल्य र सहज बजार पाउने व्यवस्था मिलाइदिन, सरकारी कार्यालय, विद्यालय, होटल र संघसंस्थामा स्वदेशी फूल प्रयोग गर्नका लागि प्रोत्साहित गरिदिन, फूल खेती सम्बन्धी वास्तविक तथ्यांक संकलन गरी दीर्घकालीन योजना बनाउन र फूल खेतीको संरक्षण र बजार विस्तारका लागि सरकारी सहयोग उपलब्ध गराउन फूल उत्पादक कृषकहरुले मागपत्र मार्फत जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

(फोटो : विर्तामोड झापा डटकम)