२२ वैशाख २०८१, शनिवार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय

२० साउन २०८०, शनिवार
Image

झापा, २० साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा आज तीन वर्षको जेल सजाय सुनाइएको छ ।

आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन् । उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ ।

अदालतको फैसला आएको केहीबेर पछि नै लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

पक्राउ पर्नुअघि रिकर्ड गरिएको एउटा भिडियो सन्देश सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको छ । जसमा उनले आफ्ना समर्थकहरूलाई चुप लागेर घरमा नबस्न भनेका छन् ।

इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो ।

न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन् ।

शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए ।

अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको थियो । 

खानको समूहले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ । उनको पार्टी तहरिक इ इन्साफले फैसलालाई पक्षपातपूर्ण भन्दै टिप्पणी गरेको छ र त्यस विरुद्ध सर्वोच्च अदालतमा चुनौती दिने जनाएको छ । 

पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन् ।

(बीबीसी)