२२ वैशाख २०८१, शनिवार

शरणार्थी फर्काउन भूटानी राजालाई अपिल

२१ साउन २०८०, आइतवार
Image

झापा, २१ साउन । भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भूटानी शरणार्थीहरुलाई स्वदेश फर्काउन भूटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नु भएको छ ।

सन् १९९० मा भूटानबाट निर्वासित भएपछि भूटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहनु भएको छ । उहाँले भूटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गर्नु भएको हो ।

विर्तामोडमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले भूटानमा दिनानुदिन संकट चुलिइरहेको, राष्ट्रियता र प्रजातन्त्र जोखिममा रहेको लगायतका कारण जनाउँदै देशभित्रको राजनीतिक समस्या राष्ट्रिय मेलमिलापको नीतिबाट मात्र हल गर्न सकिने भएको हुँदा भूटानका राजालाई पत्र पठाएको जानकारी दिनुभयो ।

उहाँले हाल भूटानको पारो, चाम्गाङ, राबुना, मोन्गार, साम्द्रुपजोङ्खार लगायतका विभिन्न जेलमा दुई सयभन्दा बढी राजबन्दी बिना सुनुवाई थुनिएको जनाउँदै प्रजातन्त्र र मानव अधिकारको आन्दोलनमा सहभागी हुँदा कठोर जेल जीवन बिताइरहेको ती सबैलाई बिना शर्त रिहाई गर्न भूटानी राजालाई आग्रह गर्नुभएको छ ।

“भूटान नै नरहने हो कि भन्ने किसिमको संकटहरु उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो–“आफ्नो भाषा, संस्कृति र प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउँदा दक्षिण भूटानका डेढ लाख नागरिकलाई ३० वर्ष अघि अन्यायपूर्वक देश निकाला गरियो । वत्र्तमान राजालाई हामी ती सबै राजबन्दीलाई बिनाशर्त रिहाई गरेर भूटानमा राष्ट्रिय मेलमिलापको नीति अपनाउन हार्दिक अपिल गर्दछौं ।”

अध्यक्ष पौडेलले दक्षिण भूटानबाट देश निकालामा परेका २० प्रतिशत भूटानी नागरिकहरु हाल कतिपय शरणार्थीको रुपमा तेस्रो मुलुकमा पुनस्र्थापना भइसकेको र कतिपय हालसम्म पनि शरणार्थी शिविरमा दर्ता भई झापा र मोरङमा कष्टकर जीवन बिताइरहेको विषयमा चिठीमार्फत भूटानी राजालाई अवगत गराउनु भएको छ ।

उहाँका अनुसार डेढ लाख भूटानी शरणार्थीहरुमध्ये सात हजारको संख्यामा अझैसम्म शिविरमा रहेको र अरुहरु तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुगेका र शिविरभित्रै बसिरहेका सबै भूटानी शरणार्थीहरु आफ्नो देश भूटान फर्कन पाउने प्रतिक्षामा रहेको उहाँले बताउनुभयो । त्यसका लागि भूटानी राजाले जेलमा रहेका सबै राजबन्दीलाई रिहा गर्नुपर्ने र सबै शरणार्थीहरुलाई स्वदेश फर्किने वातावरण तयार पार्नुपर्ने पौडेलले माग गर्नु भएको छ ।

“हामीलाई नेपाल सरकारले गाँस, बास र कपासको व्यवस्था गरिदियो,” उहाँले भन्नुभयो–“तैपनि खुशी छैनौं । किनकि हामी आफ्नै देश भूटान फर्किन चाहन्छौं । भूटान जान नपाएसम्म हामी खुशी हुनसक्दैनौं ।”

उहाँले भूटान सरकारसँग सम्वाद गरेर भूटानी शरणार्थीहरुलाई स्वदेश फर्किने वातावरण बनाउनका लागि सहयोग गरिदिन नेपाल सरकारलाई अनुरोध गर्नु भएको छ । नेपालमा रहेका शरणार्थीहरुको परिचय नवीकरण गरिदिन र दर्तामा छुटेकाहरुको दर्ता गरिदिन उहाँले नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।