२२ वैशाख २०८१, शनिवार

झापाका महिला वडा सदस्यहरु भन्छन्–‘आउँदो चुनावमा मेयरमा उठ्छौं’

२१ साउन २०८०, आइतवार
Image

झापा, २१ साउन । गौरीगञ्ज–३ की वडा सदस्य मीनादेवी पासवान जनप्रतिनिधि चुनिए पछि पनि सार्वजनिक कार्यक्रममा धक फुकाएर बोल्न लजाउँथिन् । मानौं उनको संसार ‘घुङ्घट’भित्रै छोपिएको थियो । तर, नेतृत्व विकास सम्बन्धी तालिम लिएपछि उनको आत्मविश्वास बढेको छ । 

‘सबै मानिसको सामु अहिले मज्जाले आफ्ना विचार राख्न सक्ने भएकी छु,’ उनी भन्छिन्–‘पहिले पहिले बोल्नु पर्यो भने मनमा डर लागेर आउँथ्यो । अहिले त्यस्तो केही हुँदैन । बैठक र सभाहरुमा जान्छु र मेरा कुराहरु राम्ररी राख्न सक्ने भएकी छु ।’

मीनादेवी जस्तै थुप्रै महिला जनप्रतिनिधिको सार्वजनिक उपस्थितिलाई सार्थक र नेतृत्वदायी बनाउन ‘शी लिड्स’ नामक तालिमको महत्वपूर्ण योगदान छ । ‘शी लिड्स’ महिलालाई सशक्तिकरण गराउने तालिम हो । यो तालिमले पछिल्लो समयमा जनप्रतिनिधिलाई तालिम प्रदान गरेर उनीहरुलाई सामाजिकीकरण गर्न ठूलो सघाउ पुर्याएको छ ।

मीनादेवी दलित महिला केन्द्र नेपालले हालै विर्तामोडमा सञ्चालन गरेको ‘शी लिड्स’ तालिममा सहभागी भएकी थिइन् । ‘तालिममा म नगएको भए सायद यसरी सबैका सामू उभिने आँट नै आउँदैनथियो’–उनी भन्छिन् । उनले ‘शी लिड्स’ तालिमलाई घुम्टो (घुङ्घट)बाट बाहिर निकाल्ने अवसर बताएकी छन् ।

उनी स्थानीय तहको चुनावमा एमालेबाट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । ‘एमालेले मलाई वडा सदस्यको टिकट दियो’, पासवान भन्छिन्–‘जनताले जिताए । वडा सदस्य भनेको के हो भन्ने कुरा तालिमपछि बल्ल थाहा भयो ।’

दमक नगरपालिका–७ की वडा सदस्य गायत्रा लामिछाने घिमिरेले पनि तालिमबाट आफुमा काम गर्ने हौसला बढेको बताइन् । ‘महिलाले घरको चुलाचौका मात्र गर्ने होइन, समाजका लागि केही राम्रो काम गर्न अघि बढ्नु पर्ने रहेछ,’ उनले तालिम पछिको अनुभव सुनाउँदै भनिन् ।

कमल–२ बाट वडा सदस्यमा निर्वाचित कल्पना राईको सोच्ने शैली नै तालिमले बदलेको छ । नेकपा माओवादी केन्द्रकी जनप्रतिनिधि रहेकी उनले सुनाइन्–‘अहिले वडा सदस्यको रुपमा जनताको सेवा गर्छु । अर्को चुनावमा मेयरका लागि चुनावमा हिम्मत बढेको छ ।’

अर्जुनधारा–८ बाट नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा चुनाव जित्ने एक्ली महिला उम्मेद्वार हुन् सरु बुढाथोकी । उनी पनि शी लिड्स तालिममा सहभागी भइन् । छुवाछुत सामाजिक व्यवहारमा मात्र नभएर राजनीतिक दलका नेताको कार्यशैलीमा पनि रहेको बताउँदै उनले महिलालाई पार्टीको कोषाध्यक्ष पदभन्दा माथि उठ्न नदिने र पालिकामा उपमेयरभन्दा माथि जान नदिने प्रवृत्तिसँग जुध्नु पर्ने साहस तालिमबाट आएको बताइन् ।

कार्यक्रममा बुद्वशान्ति–३ की वडा सदस्य नर्मदा चापागाई, बिर्तामोड–२ की वडा सदस्य लीला गौतम, बिर्तामोडकी पूर्व वडा सदस्य नीता घतानी लगायतको पनि उसतै अनुभव थियो । ‘शी लिड्स’को तालिमले जनप्रतिनिधिको रुपमा प्रभावकारी काम गर्ने ऊर्जा थपिएको उनीहरुको धारणा थियो ।

कार्यक्रममा दलित महिला केन्द्र नेपालकी महासचिव गौरा नेपाली, उपाध्यक्ष लक्ष्मी परियारले सबै दलहरुले अब महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने बताएका छन् । 

महासचिव गौरा नेपालीले महिलाहरुलाई आउँदो २०८४ को चुनावमा ३३ प्रतिशत उम्मेद्वार जिताउन आग्रह गरिन् ।

कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष दिपक कार्कीले सबै पदमा प्रतिशतको आधारमा महिलालाई आरक्षणको कोटा दिनु पर्ने बताए । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सामानुपातिक समावेशी निर्वाचन आवश्यक रहेको बताए ।

राप्रपा झापाका सचिव कुमार थापाले आरक्षणको खुलेरै विरोध गरे । उनले आरक्षण भन्ने कोटा नै हटाउनु पर्ने बताए । नेकपा माओवादी केन्द्र झापाका सचिवालय सदस्य माधव अर्यालले निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनु पर्ने धारणा व्यक्त गरे ।

जसपाका झापा इन्चार्ज एवम् केन्द्रीय सदस्य धनप्रसाद गुरुङले जसपाका झापा इन्चार्ज एवम् केन्द्रीय सदस्य धनप्रसाद गुरुङले लैङ्गिक समानता मात्र होइन आर्थिक समानताको पनि खोजी गर्नुपर्ने बताए ।

सामाजिक अभियन्ता रुद्र सिटौलाले महिलाहरुको ३३ प्रतिशत अधिकारको कुरा राज्यका केन्द्रीय निकायबाटै कार्यान्वयन गरिनु पर्ने दावी गरे । नेपाली कांग्रेस झापाका सदस्य धर्म लक्सम्बाले कांग्रेसले ३३ प्रतिशत महिलाको अधिकार सुरक्षित गर्न लागि परेको दावी गरे ।

तत्कालीन काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरेले सबै पार्टीका दस्तावेजमा अधिकारका कुरा लेखिए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे ।

दलित महिला केन्द्र नेपालले ‘शी लिड्स’ अन्तरगत २०७४ र २०७९ सालमा पहिलो र दोस्रो कार्यक्रम गरिसकेको छ भने २०८० सालको साउन महिनामा झापाको ८ वटा पालिकामा तेस्रो कार्यक्रम पनि सम्पन्न भइसकेको मुख्य प्रशिक्षक सोमराज ढकालले जानकारी दिए । अब एडभान्स प्रकारको कार्यक्रम चाँडै गरिने उनको भनाई छ ।

महासचिव गौरा नेपालीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको स्वागत झापा संयोजक सम्झना पोखरेलले गरेकी थिइन् । कार्यक्रमको सहजिकरण मुख्य प्रशिक्षक ढकाल र प्रशिक्षक पुनम मण्डलले गरेका थिए ।

बिर्तामोडमा ‘शी लिड्स’ले शनिवार दलित महिला केन्द्र नेपालले ’राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि व्यवस्था र कार्यान्वयन‘ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।