२२ वैशाख २०८१, शनिवार

लम्पीविरुद्ध एक करोडको भ्याक्सिन किन्दैछौं : मुख्यमन्त्री थापा

२२ साउन २०८०, सोमवार
Image

झापा, २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लम्पी स्किन रोग नियन्त्रण गर्न प्रदेश सरकारले एक करोड रुपैयाँको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान गरिसकेको बताउनु भएको छ ।

आज विराटनगरमा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै उक्त जानकारी दिनुभएको हो ।

उहाँले डेंगु रोगका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको समेत जानकारी दिनुभयो ।

प्रदेशमा लम्पी स्किन रोगबाट छ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपायामा असर परेको उहाँले बताउनुभयो । 

थापाले फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझालाई एक थान दमकल र एक थान पिकअप भ्यान आज हस्तान्तरण गर्नु भएको छ । 

उक्त दमकलको मूल्य ७७ लाख ५० हजार रुपैयाँ र पिकअप भ्यानको मूल्य ३७ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ ।