१ असोज २०८१, मङ्गलवार

मर्नुअघि विश्वराजले मागिरहे उद्धार, निर्दयी भीडले खिचिरह्यो भिडिओ

२४ साउन २०८०, बुधवार
Image

झापा, २४ साउन । सामाजिक सञ्जालको नियमनबारे व्यापक चर्चा परिचर्चा चलिरहेका बेला सिन्धुपाल्चोकमा भएको एउटा हृदयविदारक घटनाको दृष्यले गम्भीर बहसको माग गरेको छ ।

जीवनको याचना गरिरहेका सडक दुर्घटनाका घाइतेको उद्दार गर्नुको साटो सडक किनारामा बसेका मान्छेहरू मोबाइलबाट दृष्य कैद गर्न व्यस्त देखिएको एउटा फोटो अहिले भाइरल भइरहेको छ ।

सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका दोलखाको बैतेश्वर गाउँपालिका -७ मार्वुका २३ वर्षीय विश्वराज श्रेष्ठले मुकदर्शक मानिसको भिडकै अगाडी छटपटिदै ढिलोगरी उद्दार हुँदा केही घण्टापछि साँगा पुग्दा प्राणत्याग गरे ।  उनको उद्धार गर्न एकजना पनि अघि सरेनन् ।

मंगलबार दिउँसो करिब साढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको पूर्व अरनिको यातायातको बा। ३ ख ५३०८ नम्बरको बसले दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३(०२(०१३ प ३५८६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

लामोसाँगु जिरी सडकको सिन्धुपाल्चोकस्थित १६ किलो सडक खण्डमा दुर्घटनामा श्रेष्ठ गम्भीर घाइते भए । खुट्टा भाँचिएको थियो र रक्तश्राव भइरहेको थियो । बेलैमा कसैले उनलाई उद्धार गरेर अस्पतालसम्म लगेको भए बाँच्न सक्थे भन्ने फोटो हेर्दा पनि थाहा हुन्छ ।

तर, बसमा सवार यात्रु र स्थानीयवासीले घाइतेलाई उद्धार गर्नुको सट्टा मुकदर्शक बनेर हेरिरहे भने केहीले भिडिओ खिच्न थाले । घाइते श्रेष्ठको बायाँ खुट्टा काम नलाग्ने गरी भाँचिएको थियो । उनको शरीरबाट बगेको रगतले सडक रक्ताम्य थियो ।

उनले मोटरसाइकल चलाउँदा पछाडि भिरेको कालो झोला बीच सडकमा थियो । खुट्टा नचलेपछि सडक किनारमा दुवै हात पछाडि टेकेर उद्धारको याचना गरिरहेका श्रेष्ठलाई कसैले पनि उद्धार गरेनन् । मानिसहरू तस्वीर र भिडिओ खिच्न व्यस्त थिए भने कोही कम्मरमा हात समाएर बसेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

त्यो भिड यतिसम्म निर्दयी र मानवतताशून्य थियो कि, कोही कसैले पनि घाईते श्रेष्ठको रगत बगिरहेको खुट्टामा कपडाले भएपनि बेरेर रक्तश्राव रोक्न सहयोग गरेनन् । दुर्घनास्थलबाट करिव एक किलो मिटरको दूरीमा रहेको पाखर प्रहरी चौकीका प्रहरीसमेत ढिलोगरी घटनास्थल पुगेका थिए ।

प्रहरी पुग्दासम्म श्रेष्ठको शरीरबार धेरै रगत बगिसकेको थियो । बसमा सवार यात्रुका अनुसार घाइतेले हेलिकप्टर मगाइदिन आग्रहसमेत गरेका थिए । उनको आग्रहलाई बसका यात्रु, स्थानीय र प्रहरीले सुनेको नसुने झैं गरे ।

ढिलोगरी घटनास्थल पुगेको प्रहरीले पनि घाइतेको उद्धार गर्न छाडेर तस्वीर र भिडिओ खिच्न लाग्यो । घटना मुचुल्का बनाएर मात्रै घाइतेलाई अस्पताल पठाइयो । यो बीचमा दुर्घटास्थल हुँदै गुड्ने सवारीका साधनले समेत घाइतेलाई उद्धार गरेनन् । दुर्घटनाका घटनामा घाइतेलाई पहिले उद्धार गरेर बाँकी प्रक्रिया अघि बढाउनु पर्दछ । घाइतेको जीवन रक्षापहिलो प्राथमिकता हो । तर, सिन्धुपाल्चोक दुर्घटनामा प्रहरी समेत घाइतेलाई समयमा उद्धार गर्न चुकेको देखिएको छ ।

ढिला गरी घाइतेलाई घटनास्थलबाट केही किलोमिटरको दूरीमा रहेको सिन्धुसदाबहार अस्पतालमा पुर्‍याइएकव थियो । सो अस्पतालका डा। देवेन्द्र गौतमले निकै ढिला गरी घाइतेलाई अस्पताल ल्याएको रतत्कालै काठमाडौं रिफर गरेको बताए ।

उनका अनुसार घाइतेको समयमै उपचार हुननसक्दा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । सिन्धु सदावहार अस्पतालले रिफर गरेका घाइते श्रेष्ठ भक्तपुरको साँगापुग्दा समेत बोल्दै गरेको उद्धारमा संलग्नहरूले बताएका छन् । तर, बीएण्डबी अस्पताल पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

श्रेष्ठ वैदेशिक रोजगारीको क्रममा फ्रान्स जानका लागि कागजात लिएर काठमाडौं जाने क्रममा दुर्घटनामा परेका हुन् ।

(नेपाल प्रेस)