१ असोज २०८१, मङ्गलवार

रचना घिमिरेको नेतृत्वमा बन्यो मेचीनगरको जागरण अभियान

२५ साउन २०८०, बिहिवार
Image

झापा, २५ साउन । मेचीनगरमा उपभोक्ता जागरण अभियानको पहिलो पालिकास्तरीय समिति रचना घिमिरेको अध्यक्षतामा गठन भएको छ । समितिको सबै पदहरुमा महिलाहरु चयन हुनुभएको छ । 

सामाजिक क्षेत्रमा तीन दशकदेखि क्रियाशील घिमिरे मेचीनगरमा शालिन र स्वच्छ छवि भएको महिला नेतृको रुपमा परिचित हुनुहुन्छ ।

काँकरभिट्टामा आज अग्रणी महिला अभियन्ताहरुको भेलाले उहाँको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मत गठन गरेको हो । 

समितिको उपाध्यक्षमा पनिता अधिकारी, सचिवमा निरु परियार, सहसचिवमा दीपा धिताल भट्टराई, कोषाध्यक्षमा मीरा पोखरेल र सदस्यमा रीता घिमिरे, अनिता गुरागाई, शुष्मा राजबंशी र तारा आचार्य रहनु भएको छ ।

समितिले अरु दुई जनालाई मनोनित गर्न सक्ने बताइएको छ । अभियानका झापा अध्यक्ष मोहन काजीको अध्यक्षता र माइती नेपालका कोशी प्रमुख गोविन्द घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा अभियानका जिल्ला उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा र सदस्य अर्जुन कार्कीको उपस्थिति रहेको थियो ।

उपभोक्ताको हक, हित र अधिकारको पक्षमा वकालत गर्ने उपभोक्ता जागरण अभियान राष्ट्रव्यापी नेटवर्क रहेको गैरसरकारी संस्था हो । यसको केन्द्रीय, प्रादेशिक, जिल्ला र पालिकास्तरीय संरचनाहरु छन् । 

अभियानले हाल झापामा विषादी अवशेष परीक्षण गर्ने विर्तामोडको प्रयोगशाला बन्द भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विषादी परीक्षणपछि खान योग्य प्रमाणित तरकारी तथा फलफूल मात्र विक्री वितरण हुनुपर्ने माग गरेको थियो ।