२६ वैशाख २०८१, बुधवार

पूर्वीनाकामा राडारसहितको सीसी क्यामेरा जडान

२६ साउन २०८०, शुक्रवार
Image

झापा, २६ साउन । गुडिरहेको यातायातको साधन र नम्बर प्लेटको फोटो खिच्ने राडारसहितको अत्याधुनिक सीसी क्यामरा  काँकडभिट्टामा जडान गरिएको छ ।

नाकाको सुरक्षा र निगरानीका लागि जडान गरिएको सो क्यामेराले रातिसमेत दुरुस्त फोटो खिच्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले बताउनुभयो ।

गुडिरहेको सबैखाले यातायातको साधनको भिडियो, फोटो र नम्बर प्लेट खिच्ने सो क्यामेराले गति पनि मापन गर्ने उहाँले जानकारी दिनुभयो । यो क्यामराको नाम अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर) रहेको छ ।

मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टास्थित पूर्वपश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुईवटा उक्त क्यामेरा पूर्व र पश्चिम फर्काएर जडान गरिएको छ । पूर्वीनाकामा पश्चिमतर्फ जाने र पूर्वतर्फ आउने सबै यातायातका साधनहरु सोही क्यामरा भएको सडकबाट गुड्ने गरेका छन् ।

प्रनाउ भारतीका अनुसार यसको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय काँकडभिट्टाको कार्यालयमा राखिएको छ । त्यहाँ कार्यरत प्रहरी प्राविधिकले क्यामेराले कैद गरेको भिडियो, फोटो र गतिको गतिको नियमित निगरानी गरिरहेका हुन्छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले नयाँ प्रयोगको रुपमा उक्त अत्याधुनिक सीसी क्यामेरा झापाको काँकडभिट्टा र विराटनगर नाकाको रानीमा जडान गरेको हो । काँकडभिट्टाको क्यामेरा जडानको लागत मूल्य रु। १२ लाख रहेको बताइएको छ ।

“अन्तर्राष्ट्रिय नाका भएको हुँदा यहाँको सुरक्षा निगरानी अत्याधुनिक प्रविधियुक्त बनाउन जरुरी थियो,” प्रनाउ भारतीले भन्नुभयो–“खासगरी गाडीहरुलाई फोकस गरेर प्रदेश प्रहरी कार्यालयले एएनपीआर सीसी क्यामेरा जडान गरेको हो । यसले कुनै पनि यातायात साधनको नम्बर प्लेट र गतिलाई एकैपटकमा रेकर्ड गर्न सक्छ । यसमा नाइटभिजन फिचर पनि छ ।”

सवारी साधनको दुर्घटना र अपराध न्यूनीकरणमा यो क्यामेराले ठूलो सघाउ पुग्ने उहाँको भनाई छ । क्यामेराले राजमार्गमा गुड्ने हरेक साना ठूला यातायातका साधन र तिनका नम्बरको स्वचालित रुपमा फोटो खिचेर रेकर्ड राख्ने गरेकाले सीमानाकामा हुने विभिन्न किसिमका अपराध नियन्त्रणमा यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ । गाडीको गति पनि मापन गरेर रेकर्ड राख्ने भएकाले यातायातको साधनले सवारी सम्बन्धी नियम उल्लंघन गरेमा कार्वाही गर्न यो प्रविधिका कारण सहज भएको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरको रुपमा विकसित गर्न हरेक चोक र सडकमा सीसी क्यामेरा जडान गर्ने कार्य सुरु गरिएको छ । मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ वटा क्यामेरा विभिन्न स्थानमा जडान भइसकेका छन् ।