२२ वैशाख २०८१, शनिवार

सबै पालिकामा धर्ना बसे गुरुबा–गुरुआमाहरु

२८ साउन २०८०, आइतवार
Image

झापा, २८ साउन । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले ‘विद्यालय शिक्षा ऐन–२०८०’ शिक्षा, शिक्षक र कर्मचारीहरुको माग–मुद्धा सम्बोधन गर्न माग गर्दै आज देशभरका ७५३ पालिकामा तीन घण्टा धर्ना दिएको छ ।

पाँच दशकपछि सरकारले पुरानो शिक्षा ऐनलाई प्रतिस्थापन गर्दै ल्याउन लागेको नयाँ ऐनमा शिक्षक महासंघ र नेपाल सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिका आधारमा शिक्षक–कर्मचारी मैत्री व्यवस्थाहरु हुनुपर्ने आफुहरुको माग रहेको नेपाल शिक्षक महासंघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाईले बताउनुभयो ।

उहाँको नेतृत्वमा आज मेचीनगर नगरपालिकाका शिक्षक–कर्मचारीहरु धर्ना बसेका छन् । झापाका १५ वटै र प्रदेशका १३१ वटै पालिकामा यसरी नै धर्ना कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

सबै पालिकामा आज प्रमुख प्रशासकीय अधिकृतमार्फत संघीय सरकारलाई ज्ञापन पत्र दिइएको र मागलाई वेवास्ता गरिएमा आगामी दिनमा अझ कडा आन्दोलनमा उत्रिन शिक्षक–कर्मचारीहरु बाध्य हुने उहाँले बताउनुभयो ।

मेचीनगरमा डेढ सयले दिए धर्ना

विहानैदेखि वर्षा भइरहे तापनि मेचीनगरका शिक्षक–कर्मचारीहरु कतिपय पानीमा रुझ्दै र कतिपय रेनकोट ओढेर मेचीनगर नगरपालिका भवनको मूलढोकामा धर्ना बस्न आउनु भएको थियो ।

विहान ११ बजे तीन घण्टे धर्ना सुरु भएको थियो । विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरु गरी धर्नामा डेढ सयको सहभागिता रहेको नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयको पठनपाठन नरोकी धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम आयोजना गरिएको छ । ‘हरेक विद्यालयबाट प्रतिनिधिमूलक रुपमा आन्दोलनमा आएका छौं,’ अध्यक्ष पौडेलले भन्नुभयो–‘प्लस टु रहेको माविबाट पाँच जना, आधारभूतबाट तीन जना र प्राथमिकबाट दुई जनाका दरले सहभागी भएका छौं । विद्यालयको पठनपाठन रोकिएको छैन ।’ 

विहान ११ बजे शिक्षक–कर्मचारीहरु विद्यालय पोशाकमै नगरपालिकाको मूलढोकाको भुइँमै पलेटी कसेर धर्नामा बस्नु भएको थियो । महासंघको कोशी प्रदेश अध्यक्ष चम्लागाई, नेपाल शिक्षक संघका झापा अध्यक्ष तोयानाथ दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका सचिव लम्बोदर पौडेल लगायतका अगुवाहरु धर्नास्थलमा हुनुहुन्थ्यो ।

धर्नास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । धर्नास्थलबाटै नगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली कार्यालयमा जानु भएको थियो । 

महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत आज देशैभरका ७५३ पालिकामा धर्ना दिदै ज्ञापन पत्र बुझाएको छ ।

यही साउन ३० गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिदै ज्ञापन पत्र बुझाउने, साउन ३२ गते सातै प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिने र भदौ १ गते प्रदेश तथा संघीय सांसदहरुलाई माग पत्र बुझाउने लगायतका कार्यक्रमहरु महासंघले सार्वजनिक गरेको छ ।