२२ वैशाख २०८१, शनिवार

मैले बिराएको छैन, छानविनमा सघाउँछु : माधव नेपाल

२९ साउन २०८०, सोमवार
Image

झापा, २९ साउन। विदेशबाट फर्के लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

स्वीट्जरल्यान्ड भ्रमणबाट फर्किएपश्चात् आज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले आफूबाट कुनै पनि गलत काम नभएको दाबी गर्नु भयो ।

नेपालमा विकसित घटनाक्रमपछि आफूले भ्रमण छोट्याएर आएको नेपालले प्रष्टीकरण दिनुभयो । उहाँ अनुसार उहाँले पूर्वनिर्धारित दुई वटा देशको भ्रमण रद्द गरेर आउनु भएको हो।

उहाँले भन्नुभयो-‘परिस्थिति र परिबन्द त्यस्तै पर्‍यो । हतारिए होइन, चुनौतीको सामना गर्ने किसिमले आएँ । हिजो अस्ति नै आउँथे । तर टिकटै नपाइने बढो गाह्रो हुँदोरहेछ ।’

राष्ट्रिय राजनीतिमा जटिलताहरू देखा पर्न थालेका छन् भन्ने फ्याक्टरले पनि आफू छिटो फर्किन उत्प्रेरित भएको उहाँले बताउनुभयो ।

‘म आउँदा सजिलो हुन्छ भन्ने कुराहरू आइरहेको हुनाले सबै कुरालाई ध्यानमा राखेँ । जानलाई त पछि कुनै कार्यक्रम तय गरेर फेरि पनि जान सकिन्छ । खास–खास बेलामा खास नेताहरूको आवश्यकता पर्छ भन्ने कुरालाई ध्यानमा राखेर आइपुगेको छु,’ उहाँले भन्नुभयो ।

आफू ‘नबिराउनु नडराउनु’ भन्ने मान्यतामा रहेको नेपालले बताउनुभयो ।

‘यो सुरुदेखिको मान्यता रहेको छ । मैले बिराएको छैन । कुनै बदमासी अपराध गरेको छैन । भ्रष्टाचार लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले म आत्तिएको छैन । तर, अलिकति चित्त दुखेको छ । चित्त किन दुखेको छ भने, केही गरौँला भन्यो, के पो भयो । देशको निम्ति केही गर्छु भनेर, गरेर देखाएको पनि हो । त्यसमा मलाई पूरै खुशी र गर्व पनि लाग्छ ।’ उहाँले भन्नभुयो ।

उहाँको भनाई थियो-"बालुवाटारको प्रकरणमा पनि भन्ने हो भने निवासमा कोही जाने हो भने हेर्न र भन्न सक्छ । त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भन्दा सम्भवतः मेरो नाम अग्रपंतिमा आउने छ । केही बदमासी भएको छ भने छानबिन होस । मेरो सहयोगी भूमिका रहनेछ । तर मैले नितान्त असल मनसायले काम गरेको हुँ । सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानूनसम्मत लाग्ने छुट्याएर गर्ने भनिएको हो । मेरो कुनै पनि गलत कार्यमा संलग्नता रहेको छैन ।’

(नेपाल प्रेस)