१ असोज २०८१, मङ्गलवार

प्रहरी र चौकीदारको मिलेमतोमा कैदीलाई कुटरै मारिएको छानविनको निष्कर्ष

३२ साउन २०८०, बिहिवार
Image

झापा, ३२ साउन । सङखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ ।

छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिनुभएको हो ।

यही साउन २४ गते बिहान भएको सो घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो ।

उक्त टोली गत शुक्रबार संखुवासभा आएको थियो । कारागारमा रहेका सिसिटिभी फुटेजको अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उहाँले जानकारी दिनुभयो ।

कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताउनुभयो ।

अनुसन्धानपछि केन्द्रीय छानबिन समितीले शुक्रबार उक्त घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाउने तयारी गरेको संयोजक पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ ।

मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।

घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ रहनुभएको छ । घटना लगत्तै अनुसन्धानका लागि उक्त टोली गत शुक्रबार संखुवावासभा आएको थियो ।

घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश प्रमुख सोम थापासहित तीन जनाको टोली पनि संखुवासभा आएको थियो । पच्चिस जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ कैदीबन्दी छन् ।